कात्तिक १४, काठमाडौं । नेपाली सेनाको सैनिक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक विद्यार्थी करिब दुई महिनादेखि बेपत्ता भएका छन् । दैलेखको गुराँस गाउँपालिका २ घर भएका २४ वर्षीय राजेश शाही भदौ १७ गतेदेखि बेपत्ता भएका हुन् ।
भदौ १६ गते बेलुका उनको आमासँग एक घण्टा भिडियो कलमार्फत कुराकानी गरेका राजेश बेपत्ता भएपछि अहिले उनको परिवार खोजीमा लागेका छन् । आफू चाँडै डाक्टर बन्ने खुशीको कुरा सुनाएका छोरा बेपत्ता भएपछि राजेशका आमा अहिले बेहोस छन् । राजेशका बुबा दानबहादुर छोराको खोजीमा छन् ।
उनको बुवाले प्रधानसेनापतिलाई समेत छोरा कलेजबाट नै बेपत्ता भएको भन्दै जाहेरी दिइसकेका छन् । प्रहरीलाई समेत उजुरी गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा यसबारे उजुरी छ ।
काठमाडौंको सानो भर्याङस्थित प्रतिष्ठानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी शाही बेपत्ता भएको परिवारले पाँच दिनपछि मात्र थाहा पाएको राजेशका दाइ पदम मल्लले जानकारी दिए ।
काठमाडौं प्रहरीले पनि यसबारे उजुरी आएको जनाएको छ । प्रहरीले खोजी जारी राखेको बताएको छ । तर, राजेशका आफन्तले भने प्रहरीले पनि सैनिक कलेजभित्र गम्भीर रुपमा अनुसन्धान गर्न नसकेको र सेनाले जे भन्छ सोही अनुसारको मिसिल तयार पारेको आरोप लगाएको छ ।
राजेशका दाजु पदमले भने, ‘अन्तरवस्तुमा गएर अनुसन्धान नै हुन सकिरहेको छैन । हामीलाई शंका लागेका व्यक्तिबारे कुनै सोधपुछ नै गरिएको छैन ।’
पदमका अनुसार, भाइ हराएको ५ दिनपछि मात्र आफूहरुलाई जानकारी दिएकाले घटना शंकास्पद रहेको छ । अहिले आएर बच्चालाई नै बद्नाम गराउने गरी रिपोर्ट तयार पार्ने काम भएकोप्रति आफूहरुमाथि थप अन्याय भएको पदमको भनाइ छ ।
पदमका अनुसार, केएमसीबाट आइसी गरेका राजेश क्लास टपर हुन् । अहिले आर्मी कलेजमा पनि १६० विद्यार्थीमध्ये राजेश टप १० मै पर्ने उनको दावी छ । तर, अहिले आएर विद्यार्थी खराब रहेको, बदमास भएको भन्दै विद्यार्थीलाई नै आरोप लगाएर आफूहरु पन्छन खोजेको उनको भनाइ छ ।
उनले भने, ‘विद्यार्थी बदमास भएको भए यसअघि किन अभिभावकलाई भनिएन ? जानकारी दिएन ?’