जेठ १७, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जनताको जीवन रक्षा र जीवनस्तर सुधारका लागि सरकारले अधिकतम उपाय अवलम्वन गरिरहेको बताउनुभएको छ । सोमबार बालाजु बाइपासमा निर्माणाधिन सुचना केन्द्र निर्माण उपभोक्ता समितिका पदाधिकारीसँगको छलफलमा मन्त्री मानन्धरले सरकारले कोभिड महामारी नियन्त्रण केन्द्रीत बजेट ल्याएको बताउँदै उपचार र खोप सुनिश्चितताका लागि बजेटको कमी नहुने दाबी गर्नुभयो ।
मंसिरमा हुने निर्वाचन अगाबै सम्भवभएसम्म सबै नागरिकलाई निशुल्क खोपको प्रवन्ध गर्नेगरी सरकारले काम गरिरहेको दाबी गर्नुभयो । खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैया बिनियोजन भएको बताउँदै मन्त्री मानन्धरले अबको केही दिनभित्र खोप आयत सुनिश्चित हुने दाबी पनि गर्नुभयो । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा हुनेगरी बजेट आएको दाबी गर्दै मन्त्री मानन्धरले सबै नेपालीले अपनत्व ग्रहण गर्ने जनमुखी बजेट आएको दाबी समेत गर्नुभयो । सरकारले जनताको जीवन रक्षासँगै जीवनस्तस सुधारका लागि महत्वाकांक्षी बजेट ल्याएको दाबी गर्नुभयो । विपद् सामना गरिरहेका जनताको समृद्धिको चाहना पुरा गर्न सरकारले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको उल्लेख गर्दै सबै नागरिकले गर्व गर्ने बजेट आएको बताउनुभयो ।
महामारिबीच ठुला विकास आयोजनाहरुको निर्माण चलिरहेको बताउँदै मन्त्री मानन्धरले विकास निर्माणका काममा सहजिकरणका लागि सरकारले काम गरिरहेको पनि बताउनुभयो । निर्माणाधिन आयोजनामा बजेटसहित अन्य प्राविधिक समस्या नहुने बताउँदै सहजिकर०का लागि अनुगमन थालिने जानकारी पनि दिनुभयो ।
केही नेताको व्यक्तिगत कुण्ठाका कारण राजनीति केही धुमील भएको बताउँदै जनताको समृद्धिको सपना पुरा गरेरै छाडिने दाबी पनि गर्नुभयो । मन्त्री मानन्धरले तत्कालिन नेकपा र हाल एमाले भित्रका केही नेताहरुले जनमुखी काम गर्न नदिन खोजेको दबी गर्दै सबै अवरोधको सामना गर्दै सरकार जनताको हितमा निरन्तर काम गरिरहेको दाबी गर्नुभयो । सरकारले जनताको हितमा काम गरेको एमालेकै केही नेता र विपक्षी दलहरुलाई मन नपरेको बताउँदै मन्त्री मानन्धरले जनविरोधी तत्वहरुलाई आगामी चुनाव मार्फत् जनताले जवाफ दिने बताउनुभयो । देशको विकासका लागि एमालेकै नेतृत्वमा सरकार हुनुपर्ने बताउँदै मन्त्री मानन्धरले आगामी चुनावबाट जनताले फेरि एमालेलाई अनुमोदन गर्ने दाबी गर्नुभयो ।
मन्त्री मानन्धरले बेरोजगार युवालाई लक्षित गरि सरकारले ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्मको कर्जाको व्यवस्था गरेको बताउँदै स्वरोजगार हुन चाहनेहरुका लागि सहजिकरण गरिने बताउनुभयो। भूमिहिन दलित, सुकुम्बासी, जग्गाविहिनलाई आगामी आर्थिक वर्षमा जग्गाधनी पुर्जा उपलब्ध गराइसक्ने सरकारको योजना रहेको बताउँदै मन्त्री मानन्धरले दलित, मुस्लिम र मुक्त कमलरी महिलालाई निशुल्क उच्च शिक्षाको प्रवन्ध मिलाईने बताउनुभयो ।
मन्त्री मानन्धरले आगामी वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् कम्तिमा दुई लाख युवालाई रोजगारी दिइने बताउँदै अन्य क्षेत्रमा पनि व्यापक रोजगारी श्रृजना गरिने दाबी गर्नुभयो ।
सहरी विकास मन्त्रालय मातहत १ लाख ६८ हजार घरका खरका छाना जस्तापाताले विस्थापित गरिने बताउँदै प्रति परिवार ७५ हजार अनुदानको व्यवस्था गरिएको उहाँले बताउनुभयो । सरकारले कृषिलाई उच्च प्राथमिकता दिएको बताउँदै मन्त्री मानन्धरले साना किसानलाई राहत हुनेगरी बजेट आएको दाबी पनि गर्नुभयो । आगामी तीन वर्षभित्र मुलुकमा आफ्नै रासायनिक मल कारखाना स्थापना हुने बताउँदै यो वर्ष १२ अर्ब बजेट सुनिश्चित भएको मानन्धरको भनाइ छ ।