• २०८३ बैशाख ८ गते मङ्गलवार

राष्ट्रिय सभाको उप–निर्वाचनका लागि मतदान शुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १७, दाङ। लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उप–चुनावका लागि दाङको घोराहीमा मतदान शुरु भएको छ । बिहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म तोकिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

उप–चुनावमा दुई जना उम्मेदवार छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दीर्घनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् । माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको छ ।

लुम्बिनी प्रदेशमा ८३ जना प्रदेश सांसदले मतदान गर्नेछन् । गाउँपालिका र नगरपालिकाका प्रमुख, उप–प्रमुख र अध्यक्ष, उपाध्यक्ष गरी दुई सय १७ जना मतदाता छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र पालिकाका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुन्छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि सबै मतदाताको कोरोना परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ । पीसीआर परीक्षण नगरेकाहरूका लागि मतदानस्थलमै एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत थापाले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस