• २०८३ जेष्ठ २७ गते बुधवार

सभासम्मेलनसम्बन्धी ललितपुर जिल्ला प्रशासनको स्पष्टोक्ति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, ललितपुर । जिल्लाभर भइरहेका सभासम्मेलन प्रभावित हुने गरी कुनै पनि आदेश जारी नभएको ललितपुर जिल्ला प्रसाशन कार्यालयले स्पष्ट पारेको छ । कार्यालयले गत भदौ ३१ गतेदेखि सार्वजनिक शान्ति सुरक्षा व्यवस्थामा असर नपर्नेगरी राजनीतिक दल, तिनका भातृ सङ्गठन तथा विभिन्न सङ्घसंस्थालाई सभासम्मेलन, बैठक, गोष्ठी, अन्तरक्रिया लगायत कार्यक्रम गर्न अनुमति दिएको थियो ।

कार्यालयका प्रवक्ता ललितकुमार बस्नेतले यस अघिका निर्णयमा कुनै पनि परिवर्तन नभएको राससलाई जानकारी दिनुभयो । उहाँले नेपाल सरकारले जारी गरेको कोभिड–१९ सम्बन्धी मापदण्डको पालना गर्दै कार्यक्रम गर्न पाउने व्यवस्था यथावत रहेको स्पष्ट पार्नुभयो ।

संविधान प्रदत्त नागरिकको मौलिक अधिकार र राजनीतिक गतिविधि गर्ने स्वतन्त्रताप्रति कार्यालय पूर्ण सचेत र प्रतिबद्ध रहेकोसमेत उहाँले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस