भट्टराईले एमसिसीजस्ता विषयमा राष्ट्रिय दलहरूबीचमा समझदारी आवश्यक रहेको समेत बताए । ‘एमसिसीको विषय अहिले पेचिलो रूपमा उठेको छ,’ उनले भने, ‘यस्ता राष्ट्रिय मामिलाका विषयमा प्रमुख दलबीच समझदारी बनाएर नै अगाडि बढ्नुपर्छ । एससिसी पनि विशुद्ध रूपमा एउटा परियोजना अनुदान सम्झौता हो । यस्ता सम्झौता थुप्रै देशसँग हुने गरेका छन् ।’
अर्को प्रसंगमा भट्टराईले पाँचदलीय गठबन्धनको सरकारले निर्वाचन गराउने र यो गठबन्धन नटुट्ने बताए । उनले संविधान र राष्ट्रको रक्षाका लागि निर्माण भएको गठबन्धनमा कुनै पनि विवाद नरहेकाले नटुट्ने दाबी गरे । ‘यो गठबन्धन लोकतन्त्र, गणतन्त्र, संघीयता, संविधानको रक्षाका लागि बनेको हो,’ उनले भने, ‘सजिलै टुट्नेवाला छैन । यो गठबन्धन आगामी चुनावसम्म कायम रहनेछ ।’
उनले सरकारले पूर्णता पाउन ढिलाइ भएको बताउँदै अब केही दिनमै सरकारले पूर्णता पाउने जिकिर गरे । नयाँ पत्रिका