वैशाख ७, काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको आयोजनामा आजदेखि ‘घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला–२०८३’ सुरु भएको छ ।

सो क्षेत्रमा बडेमान ढुङ्गा खोपेर कलाकारले विभिन्न मूर्तिका आकार दिनेछन् । जसले आकर्षक पर्यटकीय क्षेत्र मुस्ताङका लागि कला पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । कलाकारहरुले सो क्षेत्रमा १५ दिन बसेर ढुङ्गालाई मूर्तिमा ढाल्ने छन् ।
प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले कार्यशालाबाट सिर्जना हुने मूर्तिकलामा घरपझोङको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिकलगायतका विविध विषय समेटिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले घरपझोङमा विभिन्न आकारका ढुङ्गाहरूलाई मूर्तिको रूप दिने छौँ । मुस्ताङको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा यस कार्यशालाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।”
कार्यशालाको उद्घाटन गर्दै घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले घरपझोङको समृद्धिमा कृषि र पर्यटनसँगै ललितकला पनि जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईँहरूले यहाँको ऐतिहासिक विषयवस्तुमा आधारित रहेर कला सिर्जना गर्नुहुने छ, यो ठाउँ हिन्दु र बौद्ध धर्मावलम्बी दुवैको सङ्गमस्थल भएकाले यहाँ रहेका पवित्रस्थानसम्बद्ध विषयमा कला सिर्जना गर्दै इतिहास रच्ने मौका रहेको छ ।”
१५ दिनसम्म सञ्चालन हुने कार्यशालामा ३० कलाकारको सहभागिता रहेको छ ।