वैशाख १७, कञ्चनपुर । महेन्द्रनगरस्थित महाकाली अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१८ का ४० वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिकाकी ५० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
महाकाली अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाका अनुसार ४० वर्षीय पुरुष बिहीबारै अस्पताल भर्ना भएका थिए । महिला केही दिनदेखि होम आइसोलेसनमा थिइन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई पनि बिहीबारै अस्पताल भर्ना गरिएको हो । उनीहरूको बिहीबार राति मृत्यु भएको हो ।