पौष १४, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । अन्दाजी ३३ वर्षीया महिला माथि बलात्कार भएको काठमाडौंका एसएसपी सुदीप गिरीले बताए ।

घटनामा ९ जना संलग्न रहेको देखिएको भन्दै उनले ८ जनालाई पक्राउ गरिसकिएको जानकारी दिए । मंगलबार दिउँसो महिला आफैं प्रहरी सम्पर्कमा आएकी थिइन् । प्रहरीले उनलाई अस्पताल लगेको थियो । ‘उहाँलाई बसपार्कको भूगोलबारे त्यति जानकारी रहेनछ’ गिरीले भने, ‘बसपार्क बसपार्क मात्रै भनिरहनु भएको थियो । हामीले त्यहीँबाट अनुसन्धान सुरू गर्दा एक होटल पत्ता लगायौं ।’
बसपार्क आसपासका सीसीटीभी फुटेज हेर्दा केही स्थानमा उनी एक पुरुषसँग देखिएपछि प्रहरीलाई अनुसन्धान गर्न सहज भएको थियो । त्यसक्रममा होटल पत्ता लागेको र बलात्कारमा संलग्नलाई पक्रन सफल भएको प्रहरीले बताएको छ ।
सोमबार एकजनाले महिलालाई होटलमा लगेर गएको र पछि अर्का एकजनालाई फोन गरेर बोलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मंगलबार ती महिलालाई अर्को होटलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
पीडित महिला काठमाडौंमा एक्लै बस्ने गरेको एसएसपी गिरीले बताए । ‘हामीकहाँ आउँदा उहाँ निकै आत्तिनुभएको थियो । सातरआठ जना भन्दै हुनुहुन्थ्यो’ अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भने ‘अनुसन्धान गर्दै जाँदा ९ जना संलग्न रहेको पाइएको छ । ’गिरीका अनुसार पक्राउ परेकाहरू सबैले आफू संलग्न रहेको स्वीकार गरिसकेका छन् ।