असोज १३, पाल्पा । पाल्पाको मिसन अस्पतालमा गएराति उपचारका लागि आएका एक बिरामीको मृत्युपछि प्रहरीले उनको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोस्टमार्टमका लागि पठाएको छ ।
पाल्पाका प्रहरी प्रमुख एसपी सन्तोष भट्टराईका अनुसार गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ निवासी रमेश ज्ञवालीको मंगलबार राति उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो । मृतकका भाइले कुटपिटबाटै मृत्यु भएको दाबी गर्दै अनुसन्धानको माग गरेपछि प्रहरीले शव पोस्टमार्टमका लागि बुटवल पठाउने निर्णय गरेको एसपी भट्टराईले जानकारी दिए ।
मृतकका दाजु पदम ज्ञवाली घरायसी झगडामा पति–पत्नीबीच कुटपिट भएको आशंका गरेका छन् । उनले मृतकको समवेदनशील अंगमा चोट लागेको बताए पनि प्रहरी र अस्पताल स्रोतले भने घाइते हुँदाको अवस्था र चोटबारे केही खुलाएको छैन ।
गुल्मीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । शवको पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यसबारे थप बताउन मिल्ने उनको भनाइ छ ।