भदौ १३, काठमाडौं । कास्की, पोखरा महानगरपालिका(१५ चोरसाँघुबाट नियन्त्रित लागूऔषध २ सय ८० एम्पुल नुर्फिन, २ सय ८० एम्पुल फेनरागन, २ सय ८० एम्पुल डाईजेपाम, नगद ३ लाख २९ हजार रुपैयाँ, सुन जस्तो देखिने पहेंलो रङको धातु १ केजी, १ थान पेस्तोल जस्तो देखिने लाईटर र ३ थान मोबाईल सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका(९ शिवटोलस्थित सुकुम्बासी बस्ती बस्ने ३७ वर्षीय लोक बहादुर श्रेष्ठ र उनकै श्रीमती ३२ वर्षीया बिष्णु श्रेष्ठ गुरुङ रहेका छन् ।
उक्त ठाउँमा अबैध रुपमा लागूऔषध खरिद बिक्री र संकलन गरी कारोबार गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा घरको कोठा तथा हाँसको खोरमा खाल्डो खनि लुकाई राखेको अवस्थामा उक्त लागूऔषध लगायतका सामान फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस्तै पोखरा महानगरपालिका(२३ पामे बस्ने २७ वर्षीय अर्जुन नेपालीलाई २ एम्पुल नुर्फिन, २ एम्पुल फेनरागन र २ एम्पुल डाइजेपाम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका(२ रिङरोड बस्ने २० वर्षीय भुबन खड्कालाई करिब १ सय ग्राम अवैध लागूऔषध चरेश सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै घरमा घरेलु हतियार प्रयोग गरी झ्यालको सिसा तोडफोड गरेको भनी जानकारी प्राप्त भएपश्चात ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले भुबनको कोठा तलासी गर्दा उक्त चरेश सहित सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
साथै पर्सा, वीरगंज महानगरपालिका(१६ शंकराचार्य गेटबाट ५ सय ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्रोभेट सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ठोरी गाउँपालिका(८ बस्ने २३ वर्षीय दिनेश कार्की र कास्की पोखरा महानगरपालिका(९ बस्ने २० वर्षीय अनिक गुरुङ रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको उनीहरुलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
साथै मोरङ, उर्लाबारी नगरपालिका(१ झारासादी बस्ने २० बर्षीय उमेश धिमाललाई नियन्त्रित लागूऔषध ५ सय ७५ ट्याब्लेट ट्रामाडोल र ५ सय ७० ट्याब्लेट स्पासपेन सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा धिमालको कोठाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।