असार १५, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा तीन पटकको च्याम्पियन स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ ।कोपनहेगनमा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान बनाएको हो ।

पार्केन एरिनामा सुरुवाती अग्रता क्रोएसियाले अग्रता बनाएको थियो । क्रोएसियाले २० औं मिनेटमा आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।पेड्रीको ब्याक पासमा स्पेनका गोलकिपर उनाई सिमोनले आत्मघाती गोल गरेका थिए । तर, खेलको ३८ औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ५७ औं मिनेटमा फेरान टोरेसमा क्रसमा अज्पिलिकुइटाले हेडमार्फत गोल गर्दै स्पेनलाई २-१ गोलको अग्रता दिलाए । खेलको ७७ औं मिनेटमा पाउ टोरेसको पासमा टोरेसले गोल गर्दै स्पेनलाई ३-१ को अग्रता दिलाए । ८५ औं मिनेटमा क्रोएसियाका मिस्लाभले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । खेलको इन्जुरी समयको दोस्रो मिनेटमा क्रोएसियाका मिस्लाभको पासमा मारियोले हेडरमार्फत गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याए ।
निर्धारित समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । खेलको १०० औं मिनेटमा डानिल ओल्मोको पासमा मोराटाले गोल गर्दै स्पेनलाई ४-३ को अग्रता दिलाए । त्यसपछि खेलको १ सय ३ औं मिनेटमा मिकेलले ओल्मोकै पासमा गोल गर्दै स्पेनलाई ५-३ गोलको रोमान्चक जित दिलाए ।
यससँगै स्पेन क्वाटरफाइनलमा पुग्ने पाँचौं टिम बनेको छ । क्रोएसिया भने अन्तिम १६ बाट बाहिरिएको छ ।