बैशाख १६, काठमाडौँ । कोरोना महामारी नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा बिहीबार बिहान ६ः०० बजेदेखि दुई साताका लागि निषेधाज्ञा जारी गरिएको छ । मन्त्रिपरिषद्को निर्णयले १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेसँगै बिहीबारबाट उक्त आदेश लागू भएको हो ।
वैशाख १६ गते बिहान ६ बजेदेखि अत्यावश्यकबाहेकका सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्यलाई काठमाडौँ जिल्ला प्रवेशमै रोक लगाउने भनिएको छ । अन्तर्राष्ट्रिय उडानहरू बन्द हुने छैन ।
यसैगरी सरकारी कार्यालय लगायत सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागको अनुमति लिई सवारीसाधन प्रयोग गर्न पाइनेछ । अन्य व्यवसायका हकमा अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, बैङ्क, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका साधन सञ्चालन गर्न पाइनेछ । यीबाहेक भीडभाड हुने खालका व्यवसाय कुनै पनि सञ्चालन गर्न पाइने छैन ।
सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने खाद्य सामग्री खरिद गर्न बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म न्यूनतम दुई मिटर भौतिक दूरी कायम गर्ने गरी सञ्चालन गर्न दिने भनिएको छ । ने
सञ्चारकर्मी तथा पत्रकारले पनि सम्बन्धित संस्थाले जारी गरेको प्रेस पासका आधारमा आवतजावत गर्न सक्ने भनिएको छ । काठमाडौँ उपत्यकामा प्रवेश गर्ने व्यक्तिले अनिवार्य रूपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन वा होम आइसोलेसनमा बस्नुपर्नेछ । अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा प्रवाह हाललाई स्थगित गर्ने प्रजिअको आदेशमा उल्लेख छ ।
सञ्चालन हुने सेवाहरू
एम्बुलेन्स, शववाहन, दमकल ।
सुरक्षा निकायका सवारीसाधन ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन ।
फोहोरमैला व्यवस्थापनको सवारीसाधन ।
अनुमति लिएका सवारीसाधन ।
विदेश जानेलाई विमानस्थलसम्म लैजाने सवारीसाधन ।
खाद्यान्न पसल (बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म) ।
सरकारी, बैङ्क, वित्तीय संस्था तथा अत्यावश्यक सेवाका कर्मचारी ।
पत्रकार, स्वास्थ्यकर्मी परिचयपत्रको आधारमा ।
डिपार्टमेन्ट स्टोर ग्रोसरी मात्र १० बजेदेखि ५ बजेसम्म ।
खानेपानी, स्वास्थ्य खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, दूरसञ्चार, इन्टरनेट क्वारेन्टाइन, आइसोलेसन लगायतका साधन
बन्द हुने सेवाहरू
होटल तथा रेस्टुरेन्ट (होम डेलिभरि मात्र) ।
सपिङ मल, डिपार्टमेन्ट स्टोर (ग्रोसरी मात्र) ।
लामो तथा छोटो दूरीका सवारीसाधन ।
तोकिएका बाहेक सबै निजी सवारीसाधन ।
अत्यावश्यक तथा वित्तीयबाहेक सबै निजी व्यवसाय ।
खाद्यान्नबाहेकका सबै पसल तथा व्यवसाय ।
अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा ।