चैत्र १५, बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको हो ।
बागलुङको बडिगाड गाउँपालिका वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीका अनुसार गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु र केही युवा घाइते भएको हुनसक्ने बताउनु भयो । प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीका अनुसार उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको हो । मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँबर र ३४ वर्षका दिपक दमाइ रहेका छन् ।
बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करीब ६०० जना उपस्थित भएका थिए । स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ । घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।