• २०८२ असार ४ गते बुधवार

पालिकाका आइसोलेशन खाली

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १२, चितवन । जिल्लाका सात पालिकाले सञ्चालन गरेको आइसोलेशनमा कोरोना सङ्क्रमित आउन छाडेपछि खाली भएका छन् । यहाँका पालिकाले गत चैतदेखि सञ्चालनमा ल्याएको आइसोलेशनमा अहिले बिरामीको सङ्ख्या शून्य भएसँगै आइसोलेन खाली भएका हुन् ।

कोरोना सङ्क्रमण दर बढ्दै जाँदा गत जेठ र असारमा ती आइसोलेसनमा दैनिक ५० भन्दाबढी बिरामीको उपचार गराइएको चितवन स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार जिल्लाका सात पालिकामा १२५ श्ययाको आइसोलेशन स्थापना गरिएको थियो ।भरतपुर महानगरपाकिलामा ३०, माडी नगरपालिकामा– १०, खैरहनी नगरपालिकामा–२०, राप्ती नगरपालिकामा–२०, कालिका नगरपालिकामा–१२ रत्ननगर नगरपालिकामा–आठ र इच्छाकामना गाउँपालिकामा २५ श्ययाको आइसोलेशन सञ्चालनमा ल्याइएको थियो ।

विगत केही समयदेखि राप्ती र खैरहनीकोे आइसोलेशनमा बिरामीको सङ्ख्या शून्य हुँदैआएकामा अहिले सबै आइसोलेशनमा बिरामीको सङ्ख्या शून्य भएको हो ।जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रले गत फागुनमा सबै स्थानीय तहलाई आइसोलेशन स्थापनाका लागि अनुरोध गरेकामा सोहीअनुसार सञ्चालनमा आएको आइसोलेशन अहिले बिरामी शून्य भएपछि सञ्चालनमा आउन सकेका छैनन् ।“सञ्चालनमा नआए पनि बिरामी बढ्दै गए त्यहाँ राख्न सकिने छ,” उहाँले भन्नुभयो, “आइसोलेशन बन्द गरिएको छैन । अहिले सञ्चालनमा मात्र नल्याइएको हो ।”

कतिपय आइसोलेशन अस्पतालमा नै सञ्चालन भइरहेकाले आवश्यकतानुसार सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो । अहिले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५६० रहेकामा ५२१ होम आइसोलेशनमा छन् भने ३९ अस्पतालमा उपचाररत छन् । जिल्लामा हालसम्म २५ हजार ८२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४१२ को मृत्यु भइसकेको छ भने २४ हजार ८५३ निको भएर घर फर्किसकेका छन् । यहाँका अस्पतालमा अहिले ५२ सङ्क्रमितको उपचार भइरहेको छ । यहाँका अस्पतामा ५९२ श्यया कोभिडका बिरामीको लागि छुट्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस