• २०८३ बैशाख ४ गते शुक्रवार

जिल्ला अस्पताल संखुवासभामा आइसियु तथा भेन्टिलेटर सेवा सञ्चालन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १२, संखुवासभा ।  जिल्ला अस्पताल संखुवासभामा विशेषज्ञसहितको सेवा सञ्चालनमा आएको छ। अस्पतालले एकै पटक आठ प्रकारको सेवा बिस्तार गरेको हो।

अस्पतालमा पछिल्लो आइसियु तथा भेन्टिलेटर सेवा, अक्सिजन प्लान्ट जडान, कल्चर सेवा, हाडजोर्नी सेवा तथा शल्यक्रिया (ट्रमा केस), कन्सल्टेन्ट जनरल फिजिसियज सेवा, इएचसी सेवा, एबिजी सेवा र सामाजिक सेवा इकाई सेवालगायत आठ प्रकारका सेवाको थपिएका छन्।

दुई शय्याको भेन्टिलेटर सेवासहित पाँच बेडको आइसियु सेवा सञ्चालन गरिएको जिल्ला अस्पताल संखुवासभाका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ड डा. सुन्दरश्याम झाले जानकारी दिए। हिमाली जिल्लामा यतिका उपकरणसहित विशेषज्ञ सेवा बिस्तार गर्नु महत्वपूर्ण कुरा भएको जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष सुमन शाक्यले बताए। अघिल्लो वर्षहरुमा अस्पतालको भौतिक पूर्वाधार विकासमा केन्द्रित भएर लागिपरेको र यो वर्षदेखि औजार उपकरण र सेवा विस्तार सञ्चालन गरिएको अध्यक्ष शाक्यले बताए।

अस्पतालले सेवा विस्तार गर्न लागि दक्ष चिकित्स समेत नियुक्त गरिसकेको अस्पताल प्रशासन शाखा प्रमुख दिपेश श्रेष्ठले बताए। अस्पतालमा हाडजोर्नी सेवा तथा शल्यक्रिया (ट्रमा केस) र आइसियु तथा भेन्टिलेटर सेवा सुरुवात भएकोउनले बताए। जिल्ला अस्पतालले गत सातादेखि अक्सिजन प्लान्ट राखेर उत्पादन गर्न सुरु गरिसकेको छ।

५० शय्याको अस्पताल भए पनि नयाँ भवन निर्माण सम्पन्न नभएकाले पुरानै भवनमा औजार उपकरण राखेर सेवा सञ्चालन गरेको अस्पताल प्रशासनले जनाएको छ। जिल्ला अस्पताल संखुवासभाले सामाजिक सेवा इकाई मार्फत थुप्रै सेवाहरु बिस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।

गरिब तथा असहाय, अपांगता भएका, जेष्ठ नागरिक, लैंगिक हिंसा पीडित, गरिब तथा विपन्न आकस्मिक बिरामी, विपद एवं प्राकृतिक प्रकोप पीडित, सिमान्तकृत आदिवासी जनजाति, महिला स्वयंसेविका, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा तथा कैदीबन्दीहरु र शहिद परिवारहरुलाई विभिन्न उपचारमा १०० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको ब्यबस्था गरिएको समिति अध्यक्ष शाक्यले बताए।

संखुवासभा अस्पतालमा नै विशेषज्ञ सेवा विस्तार भएपछि संखुवासभा र भोजपुरका उत्तरी क्षेत्रका नागरिकले जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ। अस्पताललाई यसअघि अरुण तेस्रो आयोजनाले दुई थान भेन्टिलेटर र आइसियु उपलब्ध गराएको छ। भेन्टिलेटर र आइसियु सञ्चालनका लागि कुनिना शैक्षिक गुठीले १८ लाख रुपैयाँ सहयोग गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस