असार १४, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश गरेको छ । हंगेरीमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमै नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो । खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको हो । बक्स बाहिर हातले बल रोकेपछि रेफ्रीले भीएआरको सहायताबाट उनलाई रातो कार्ड दिएर मैदानबाट बाहिर पठाएका थिए । भीएआर अघि उनलाई पहिलो कार्ड मात्र दिईएको थियो ।
खेलको ६८ औं मिनेटमा टोमस कालसको पासमा हेडरमार्फत टोमसले गोल गर्दै चेक रिपब्लिकलाई १-० को अग्रता दिलाए । त्यसपछि खेलको ८० औं मिनेटमा टोमस होल्सको पासमा प्याट्रिकले गोल गर्दै चेक रिपब्लिकलाई २-० को जित दिलाए ।
अब चेक रिपब्लिकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । डेनमार्क वेल्सलाई ४-० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । नेदरल्यान्ड्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।