बैशाख १५, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा मात्रै दुई हजार ४७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा एक हजार ४६४ जना सङ्क्रमित पहिचान गरिएको हो ।
मन्त्रालयले १३ हजार ८७९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा कोरोना भाइरसका चार हजार ७७४ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या तीन लाख १२ हजार ६९९ पुगेको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७७३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९५५ जनाको एन्टीजेन परीषण गरिएको छ । जसमध्ये १२३ मा पोजिटिभ पाइएको छ ।