असोज ११, काठमाडौं । नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिका संयोजक तथा सदस्यहरुको विदाई गरिएको छ । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आज आयोजित एक समारोहमा निवर्तमान संयोजक लोक बहादुर भण्डारी र सदस्य बिजेन्द्र ध्वजूलाई निर्देशक रामप्रसाद भट्टराईले मायाको चिनो प्रदान गरी विदाई गर्नुभएको हो ।
७० बर्षको इतिहासमै सबभन्दा बढी कार्यक्रम र तुलनात्मक रुपमा परिणाममुखी एवं ऐतिहासिक महत्वका कार्यहरु गर्दै नेपाल स्काउटलाई एउटा नयाँ उचाइमा पुर्याउने हालको आफ्नो नेतृत्वको राष्ट्रीय तदर्थ समितिलाई नेपाल स्काउटका संरक्षक एवं प्रमुख स्काउट समेत रहेको सम्माननिय प्रधानमन्त्रीले जिम्मेवारी पूरा गर्न नसकेकाले जिम्मेवारी बाट अलग गरिएको भन्ने निर्णय अस्वाभाविक र आश्चर्यजनक रहेको बताउनुभयो।
नेपाल स्काउट फेरिपनि अर्को तदर्थ समितिको श्रृंखला बाट मुक्त गरी निर्वाचन नेतृत्व स्थापित गर्न समेत आग्रह गरे, आफूलाई सामाजिक सञ्जालमा समेत आक्रमण भइरहेको र व्यक्तिगत जीवनको विषयवस्तुलाई जोडेर आफूमाथि प्रहार भैरहेको निवर्तमान संयोजक भण्डारीले जानकारी दिनुभयो।
अबको आफ्नो बाटो कानूनी सल्लाह भएको बताउँदै सरकारलाई आफूले नेपाल स्काउटले मागेको ऐन नदिएको अनि अर्कोलाई एउटा आरोप लगाएर निकाल्नका लागि निकालिएको छ, म निकालिएको मात्र हो मैले जिम्मेवारी पूरा नगरेको होइन भण्डारीले बताउनु भयो ।
कार्यक्रममा निवर्तमान संयोजक भण्डारीले आफु नियुक्त भएदेखि हालसम्म गरेका महत्वपूर्ण काम तथा उपलब्धीहरुको विवरण प्रस्तुत गर्नुभएको थियो । श्री लोक बहादुर भण्डारीले आफ्नो कार्यकालमा सहयोग पुर्याउने सबैलाई धन्यबाद ज्ञापन गर्दै स्काउटको विकासमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल स्काउटको वार्षिक प्रतिबेदन र ककनी अन्तर्राष्ट्रिय स्काउट केन्द्रको बृहत्तर विकासका लागि गुरुयोजनाको झलक समेत प्रस्तुत गरिएको थियो ।