असार १३, मोरङ । मोरङको सुनवर्षीमा ढुंगाले हानेर बाबुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरीया छन् ।
उनले ६८ वर्षीय बाबु टीनताल ताजपुरियाको हत्या गरेको आरोप लागेको मोरङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मञ्जील मुकारुङका अनुसार मापसे गरेको विषयलाई लिएर भएको सामान्य घरायसी विवादमा उनले शनिबार बिहान ६ बजेतिर सुतिरहेकै बेला बुवालाई ढुङ्गाले हानेका थिए ।
ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका टीनताललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । तर कोशीले उपचार सम्भव नहुने भन्दै अन्य अस्पतालमा रिफर गरिदिएपछि गम्भीर अवस्थाका उनलाई लगेर घरमै राखिएको थियो । टीनतालको आइतबार बिहान मृत्यु भएको हो ।