असार १३, एजेन्सी । इटाली १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । खेलको ९५ औं मिनेटमा लियोनार्दोको पासमा चिसाले गोल गर्दै इटालीलाई १-० गोलको सुरुवाती अग्रता दिलाए । खेलको १ सय ५ औं मिनेटमा फ्रान्सिस्कोको पासमा पेसिनाले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ११४ औं मिनेटमा अष्ट्रियाका लुइसको पासमा हेडमार्फत सासाले एक गोल फर्काएपनि इटाली २-१ ले विजयी भयो ।
यस जितसँगै इटालीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । इटालीले ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको हो । इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।
यससँगै इटाली क्वाटरफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । अष्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ