ढुङ्गाहरू —-
प्रेमप्रकाश ठड्याएर औंला
प्रिय मान्छेको विराट जुलुसअगाडि
घोषणा गर्न चाहन्छु म
अब मान्छेभन्दा ढुङ्गाहरू नै सम्राट हुन् पृथ्वीका ।
किनकि
ढुङ्गाहरू मान्छेभन्दा कठोर छैनन्
ढुङ्गाहरू मान्छेभन्दा निष्ठुर छैनन्।
कति अप्रिय हुन्छ मान्छे
कति कठोर हुन्छ मान्छे !
कुनै समयअघि
बालुवाहरू ढुङ्गा थिए
ढुङ्गाहरू पहाडमा थिए पृथ्वीको भित्र कतै गर्भमा
र ढुङ्गाहरूमा ढुङ्गा हुनुको बोध छ
मान्छेहरूमा भने
मान्छे हुनुको बोधमा शंका छ ।
ढुङ्गाहरूले रत्तिभर गर्दैनन्
संघर्ष र सङ्कटका कुरा,
जीवनभर संकटमा बाँचिरहेका हुन्छन् ढुङ्गाहरू
जीवनभर संघर्ष गरिरहेका हुन्छन् ढुङ्गाहरू
तसर्थ मान्छेलाई पन्छाएर
बडो श्रद्धाले अँगालो हाल्न मन लाग्छ ढुङ्गाहरूलाई
किनकि मान्छेभन्दा ढुङ्गाहरू कोमल छन्
कति गम्भीर छन् !
मैले ढुङ्गाबाटै सिकेको हुँ—मौनताको कुरा
पर्खाइको कुरा र मौन प्रेमको रहस्य
त्यसकारणले नै ढुङ्गाहरूलाई
निस्फिक्री प्रेम गर्न चाहन्छु ।
खासमा यहाँ
सम्मान गर्न लायक
ढुङ्गाहरूबाहेक अर्थोक देखिएका छैनन् ।
- कवि प्रेम प्रकाश
•• थबाङ, रोल्पा ।