मंसिर १०, काठमाडौं । नवप्रवेसी सातदोबाटो युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा थ्री-स्टार क्लबविरुद्ध १-० गोलको नजितामा ऐतिहासिक जित हासिल गरेको छ । पहिलो पटक शहीद स्मारक लिग खेलिरहेको सातदोबाटोले शीर्ष डिभिजन लिगमा पहिलो जित निकालेको हो ।
शुक्रबारदेखि सुरु भएको लिगको दोस्रो चरणअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटोलाई जित दिलाउन सुदिप गुरुङको एक मात्र गोल निर्णायक बन्यो । सुदिपले २९औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए ।
पेनाल्टी एरिया भित्रबाट अजयी मार्टिन्सले दिएको पासलाई पेनाल्टी बक्सको ठीक अगाडिबाट प्रहार गर्दै सुन्दर गोल गरेका थिए । उनको एक मात्र गोल सातदोबाटोलाई ऐतिहासिक जित दिलाउन पर्याप्त बन्यो ।