साउन ११, काठमाडौं । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता दिएको छ । आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यको सनाखत लिएपछि बहुमतको आधारमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको हो ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेका हुन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका छन । जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका छन । पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका छन । हाल जेल सजाय भोगिरहनुभएका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बस्नुभएको छ ।