बैशाख १३, काठमाडौं । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि २२ गतेसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाअधिकारीहरुको आजको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

काठमाडौ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी बैशाख १६ गते विहान छ बजे देखि बैशाख २२ गते राती १२ बजेसम्म अत्यावश्यक सेवाका बाहेकका सार्वजनिक तथा निजी यातायात सञ्चालनमा रोक लगाएको छ । साथै खाद्यसँग सम्बन्धित पसलहरू विहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला गर्न सकिने व्यबस्था गरिएको छ । साथै काठमाडौं उपत्यका प्रवेश गर्न चाहाने व्यक्तिले अनिवार्य रूपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने व्यबस्था गरिएको छ ।
यस्तै सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन । विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्रै गर्न सकिनेछ ।
सार्वजनिक एवम् निजी सवारी साधन वैशाख १६ गते बिहान ६ देखि २२ गते राति १२ बजेसम्म काठमाडौँ उपत्यकाभरमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।
सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने आदेशमा उल्लेख छ । विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा आधिकारिक सवारी पास लिएर मात्रै सञ्चालन गर्न पाइनेछ ।
नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न दिने, काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्तिको अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेशनमा बस्नुपर्नेछ ।
सञ्चारकर्मी र पत्रकारको हकमा सूचना सङ्कलन गर्न सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न दिने आदेशमा उल्लेख छ । त्यस्तै, अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा हाललाई स्थगन गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
बैशाख १६ देखि २२ गतेसम्म काठमाडौंमा अत्यावश्यक बाहेकका सेवा सञ्चालनमा रोक विज्ञप्ति