पौष १०, काठमाडौं । नेकपा एमालेको कीर्तिपुर नगर कमिटीको छैठौं अधिवेशनले राधाकृष्ण बस्नेतको अध्यक्षतामा ५३ सदस्सीय नगर नेतृत्व निर्वाचित गरेको छ । शनिबार सम्पन्न छैठौं नगर अधिवेशनमा बस्नेतको अध्यक्षतामा सर्वसम्मत्त कमिटी निर्वाचित गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा चिनीकाजी श्रेष्ठ, सचिवमा न्हुँछे बहादुर महर्जन, उपसचिवमा सुमन पोखरेल र मन्दिरा महर्जन सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
निर्वाचित सदस्यहरुलाई नेकपा एमाले स्थायी समिति सदस्य कृष्ण गोपाल श्रेष्ठले शपथ गराउनु भएको थियो । सम्मेलनलाई शुभकामना दिँदै नेता श्रेष्ठले नेपाल कम्प्युनिष्ट पार्टीका सँस्थापक महासचिव पुष्पलाल र प्रथम निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई आश्रय दिने र जननेता मदन भण्डारीलाई निर्वाचित गराउने कीर्तिपुर क्षेत्र रहेको उल्लेख गर्दै यसको गरिमा कायम राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका विशेष अथिती नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण राईले निर्वाचितहरुलाई सफल कार्यकालको शुभकामना दिँदै नयाँ नेतृत्वले कीर्तिपुर क्षेत्रमा अहिलेसम्म कायम रहेको नेकपा एमालेको बर्चश्वलाई निरन्तर जारी राख्नुपर्ने बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष बस्नेतले कीर्तिपुरमा नेकपा एमाले सर्वाधिक ठूलो र अग्रणी पार्टी भएको उल्लेख गर्दै आगामी निर्वाचनमा जीत हासिल गर्नुका साथै हालको सदस्य सँख्यालाई गुणात्मक रुपमा वृद्धि गर्नेमा आफ्नो टिम केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।