• २०८३ बैशाख ४ गते शुक्रवार

एक लाख मात्रा फाइजर खोप हस्तान्तरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ८, काठमाडौँ । नेपाल सरकारलाई अमेरिकी सरकारले आज कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर’ प्रदान गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई अमेरिकी सहयोग नियोग नेपालका निर्देशक सेपिडे केभान्साडले हस्तान्तरण गर्नुभयो । स्वास्थ्य सचिव डा पोखरेलले खोपले कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न सरकारलाई सहयोग हुने बताउनुभयो ।

उहाँले अमेरिकाले उपलब्ध गराएको खोप १२ वर्षभन्दामाथिका दीर्घरोगीलाई लगाइने जानकारी दिनुभयो । नियोगका नेपालस्थित निर्देशक केभान्साडले खोप नेपाललाई दिन पाएकामा खुसी व्यक्त गर्दै उहाँले नेपाललाई भविष्यमा फाइजर खोपका लागि थप मात्रा प्राप्त गर्न सहज हुने बताउनुभयो ।नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा खोप उपलब्ध गराएको हो । उक्त खोप कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले उपलब्ध गराएको हो । यसअघि अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।

मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोप १२ वर्षभन्दा माथिका मुटु, मिर्गौला, दम जस्ता दीर्घ रोगीलाई दिइने जानकारी दिनुभयो । उहाँका अनुसार उक्त खोप छठपछि देशका विभिन्न २३ अस्पतालबाट ती दीर्घरोगीलाई दिइनेछ ।खोपलाई अहिले टेकुस्थित स्वास्थ्य सेवा विभागको भण्डारणमा राखिएको छ । सरकारले बालबालिकालाई अमेरिकाबाट ६० लाख मात्रा फाइजर र ४० लाख मात्रा मोडर्ना खोप ल्याउने तयारी गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस