भदौ ९, काठमाडौं । प्रहरीले मकवानपुरको थाहा नगरपालिका-३ दोबाटोमा ना।७ ख ७८८४ नम्बरको ट्रकबाट करिब १ सय किलो अवैध लागूऔषध गाँजा सहित ट्रक चालक मकवानपुरगढी गाउँपालिका-८ बुढिचौर बस्ने ४१ वर्षीय अम्बर बहादुर घिसिङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । डाँडाखर्कबाट पालुङतर्फ आउँदै गरेको उक्त मिनी ट्रकलाई ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकको पछाडीको भागमा आलुको बोराभित्र लुकाई राखेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरि काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित चितवन खैरेनी नगरपालिका-१० बस्ने २९ वर्षीय वुद्धीराज पाठकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । कतार एयरको उडानद्वारा कतारको दोहा जान लागेका उनलाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र ग्यास्ट्रिक हरण चुणको १२ वटा बट्टाहरुमा राखेको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
साथै बारा, जितपुर सिमरा उपमहानगरपालिका-५ रातो पुलस्थित रोहित प्लाजा होटलको अगाडिबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा निजगढ नगरपालिका-१३ बस्ने ३३ वर्षीय दिपक पाख्रिन र सोही ठाउँ बस्ने २५ वर्षीय बाबुराम वाईबा रहेका छन् । सिमराबाट जितपुरतर्फ आउँदै गरेको ना।४६ प ५९३१ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सिमरा र ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको छ ।