• २०८३ बैशाख ३० गते बुधवार

सुदूरपश्चिमका स्थानीय तहमध्ये शुक्लाफाँटामा सबैभन्दा कम बेरुजु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ, ९ कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमध्ये शुक्लाफाँटा नगरपालिकामा सबैभन्दा कम बेरुजु निस्किएको छ।

महालेखापरीक्षकको वार्षिक लेखापरीक्षण प्रतिवेदन, २०७८ अनुसार प्रदेशका ८८ वटा स्थानीय तह मध्ये शुक्लाफाँटा नगरपालिकामा सबैभन्दा कम बेरुजु रहेको हो।

नगरपालिकाको आर्थिक वर्ष ०७६/७७ मा कूल लेखापरीक्षण भएको रकम एक अर्ब ३५ करोड ६९ लाख ९२ हजार रुपैयाँमध्ये बेरुजु रकम ८० लाख ५६ हजार रुपैयाँमात्रै रहेको छ। जुन कूल विनियोजनको शून्य दशमलव ५९ प्रतिशत हुन आउँछ। यो रकम सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा फर्छ्योट हुन बाँकी रकममध्ये सबैभन्दा कम हो।

महालेखापरीक्षकको कार्यालयको अन्तिम लेखा परीक्षणमा चार प्रतिशतभन्दा कम बेरुजु हुने स्थानीय तहलाई आर्थिक अनुशासन र वित्तीय सुशासन राम्रो भएको मानिन्छ।

प्रदेशका ८८ नगरपालिकामा सबै भन्दा कम र देशका ७५३ स्थानीय तह मध्ये कम बेरुजु भएका स्थानीय तह मध्ये शुक्लाफाँटा ३० औं स्थानमा रहेको छ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिसनसिंह थापाका अनुसार आर्थिक वर्ष ०७४/७५ मा नगरपालिकामा बेरुजु रकम ६ करोड ५४ लाख २४ हजार, आर्थिक वर्ष ०७५/७६ मा दुई करोड ९२ लाख ३५ हजार र आर्थिक वर्ष ०७६/७७ मा ८० लाख ५६ हजार गरी कूल बेरुजु रकम १० करोड २६ लाख १५ हजार रुपैयाँ रहेको थियो।

कूल रकममध्ये नगरपालिकाले पाँच करोड ७२ लाख ३२ हजार बेरुजु रकम फर्छ्योट गरेको छ। नगरपालिका यसअघि पनि कार्य सम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट स्थानीय तह ठहर भएको थियो।

आर्थिक वर्ष ०७६/७७ मा कञ्चनपुरका पुर्नवास नगरपालिकामा ४ दशमलव ७६, बेलौरी नगरपालिकामा ५ दशमलव ०६, कृष्णपुर नगरपालिकामा १ दशमलव ६९, भीमदत्त नगरपालिकामा ३ दशमलव ०६, बेदकोट नगरपालिकामा १ दशमलव ५०, महाकाली (दोधरा चाँदनी) नगरपालिकमा ११ दशमलव ०४, लालझाडी गाउँपालिकामा १ दशमलव ५१ र बेलडाँडी गाउँपलिकामा १ दशमलव ७७ प्रतिशत बेरुजु छ।

सुदूरपश्चिम प्रदेशमा सबै भन्दा बढी बाजुराको त्रिवेणी नगरपालिकामा १७ दशमलव ६० प्रतिशत बेरुजु छ।

Sharing

प्रतिक्रिया दिनुहोस