नेकपा एमालेका प्रवक्ता तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डका कारणले एक ढिक्का हुन नसकेको दावी गरेका छन् । आइतबार गृह जिल्ला गुल्मीको तम्घासमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
पूर्वमाओवादीका नेताहरु एमालेमा प्रवेश गरेको नभइ प्रचण्डका कारणले एकता सम्भव नभएपछि उनीहरु एमालेलाई नै एकीकृत पार्टीको रुपमा विकास गर्नका लागि जोडिएको बताए ।
उनले नेकपा अदालतले फुटाइदिएको भन्नु गलत भएको पनि टिप्पणी गरे । उनले थपे, ‘ अदालतले नेकपा फुटाएको होइन्, उस्तै नामको नेकपा अर्कैले पहिल्यै दर्ता गरि सकेकाले अदालतले अर्को नाम फेर्नुहोस् भनेको हो , कमरेड केपी ओली र प्रचण्ड मिलेर अर्को नाम फेरेर अगाडि बढ्नु पर्नेमा त्यसो हुन नसकेका कारण आ–आफ्नो ठाउँमा फर्किनु परेको हो । ’
अदालतले गरेको पछिल्लो फैसलाप्रति भने उनले विमति जनाए । नेपालमा अदालतले प्रधानमन्त्री नियुक्ति गर्ने नयाँ नजिर र अभ्यास सुरु गरेर देशमा अनपेक्षित मोड सिर्जना गरेको उनको दावी छ ।