• २०८३ जेष्ठ १७ गते आइतवार

मलेसियाबाट २४ शव र ३ अस्तु नेपाल ल्याइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन १०, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २७ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले मलेसियाबाट २४ वटा शव र उतै दाहसंस्कार गरिएका शवका ३ वटा अस्तु नेपाल ल्याएको हो ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव शनिबार नै आफन्तलाई जिम्मा लगाइएको बोर्डले जनाएको छ । विमानस्थलमा शव बुझ्ने आफन्तको कोलाहल र रुवावासीले अवस्था हृदयविदारक बनेको थियो । शवहरुको पहिचान गर्न समेत अलमल रहेको र कसैले कसैलाई पनि सम्झाउन नसक्ने अवस्था बनेको थियो ।

शनिबार तनहुँका झपटबहादुर थापा, पाचँथरका दलबहादुर लावती, पाल्पाका एमबहादुर सुनारी, वाराका रामबहादुर कामु, जाजरकोटका सन्दीप विक, बागलुङका सुनिल बीसी, बर्दियाका मनिराम चौधरी, ललीतपुरका जीतबहादुर मोक्तान, खोटाङका कृष्ण कुमार राईको शव ल्याइएको थियो ।

ल्याइएका शवहरुमध्ये कम्पनीमा काम गर्दागर्दै दुर्घटनामा परेका १ जना, ६ जना झुण्डिएर आत्महत्या गरेका र अन्यको विभिन्न कारणवाट मृत्यु भएको बताइएको छ । ल्याइएका तीन वटा अस्तु मध्ये दुई वटा कोरोना संक्रमित भई मृत्यु भएको थियो भने एक जनाले मलेसियामै आत्महत्या गरेको रेकर्ड रहेको मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव तथा प्रशासनिक प्रमुख अधिकृत प्रतिक कार्कीले जानकारी दिएका छन् ।

शव लिन मलेसिया गएका नेपाल एअरलाइन्सका सिनियर क्याप्टेन विजय लामाले श्रम र पसिना बेच्न विदेश गएका नेपाली दाजुभाइ दिदीबहिनीको शव ल्याउँदा जस्तो दुःख, पीडा अरु कुनै पनि उडान गर्दा नहुने टिप्पणी गरेका छन् । उनले देशमा राजनीतिक खिचातानी छाडेर युवाहरुलाई श्रम र पसिना बेच्न विदेश जानुपर्ने बाध्यता हटाउन दल र नेतासँग आग्रह पनि गरेका छन्  ।

जुलाई १७ अर्थात गएको शनिबार १२ वटा, बुधबार एउटा र यस शनिबार २४ वटा गरी एक हप्ताभित्रै ३७ वटा शव र ३ वटा अस्तु विदेशबाट नेपाल ल्याइएको र अझै १८ वटा लिन जानुपर्ने अवस्था रहेको भन्दै क्याप्टेन लामाले यो अवस्था सरकारको लागि तथ्यांकमा मात्रै सीमित भए पनि मृतकका आश्रित परिवारको लगि सर्वस्व गुमेको उल्लेख गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस