• २०८३ बैशाख २१ गते सोमवार

निषेधाज्ञा असर : आफूले रोजेको कलेजमा पढ्न वञ्चित हुँदै विद्यार्थी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, ८ काठमाडौं । नेपालमा पुनः दोस्रो लहरको कोभिड-१९ संक्रमण फैलिएसँगै सबै शिक्षण संस्था हालसम्म पनि बन्द छन्। वैशाख १६ गतेबाट जारी भएको निषेधाज्ञा अधिकांश जिल्लामा जारी छ।

निषेधाज्ञाको प्रत्यक्ष मार विद्यार्थीहरूले खेपेका छन्। न उनीहरूले भौतिक कक्षामै उपस्थित भएर पढ्न पाएका छन्‌, न त आफूले रोजेको स्कूल /कलेजमा नै पढ्न पाएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत साउन २३ गते नै सार्वजनिक गरिसकेको छ। देशभर करिब पाँच लाख विद्यार्थीको आन्तरिक मूल्यांकन गरी नतिजा प्रकाशन भएको थियो।

नतिजा प्रकाशित भएसँगै अहिले उनीहरू ‘प्लस टु’ अर्थात माध्यमिक तहको कक्षा ११ र १२ पढ्न कलेज रोजिरहेका/खोजिरहेका छन्।

तर, कोरोना रोकथाम तथा नियन्त्रण गर्न कायम निषेधाज्ञाका कारण उनीहरूले रोजेको र खोजेको कलेजमा पढ्न जान पाएका छैनन्। गृह मन्त्रालयका अनुसार हाल पनि भक्तपुर, काठमाडौं, ललितपुर र कास्की लगायत देशभरका ५१ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। यहीबीच कलेजहरूमा भर्ना खुलिसकेको छ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार शहरमा भन्दा बढी विकट जिल्लाका विद्यार्थीलाई यसले मानसिक समस्या नै दिने गरेको छ।

उनले भने, ‘कर्णाली प्रदेशलगायत ठाउँमा निषेधाज्ञा जारी छ, यसले गर्दा विद्यार्थीहरूले आंशिक रूपमा एक ठाउँबाट अर्को ठाउँमा पढ्न जान पाइरहेका छैनन्‌, शहर क्षेत्रमा यस्तो समस्या नरहला, तर ग्रामीण क्षेत्रका विद्यार्थीले रोजेको कलेज र विषय पढ्न पाइरहेका छैनन्।’

Sharing

प्रतिक्रिया दिनुहोस