• २०८३ जेष्ठ ३१ गते आइतवार

हजारौँ युवाको उपस्थितिमा सम्पन्न भयो आईटी आर्मीको रौतहट जिल्ला भेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन ९, रौतहट । प्रविधिको प्रयोग गरी समाजमा विद्यमान सबैखाले विकृतिको अन्त्य गर्न तथा समाजवादी व्यवस्था निर्माण गर्ने लक्ष्यका साथ गठन भएको ‘आई टी आर्मी’ले रौतहट जिल्ला स्तरीय भेला सम्पन्न भएको छ ।

शुक्रवार रौतहटको देवाही गोनाही नगरपालिकाको गोनाही बजारमा करिब ५ हजार युवाहरुको सहभागितामा सम्पन्न आईटी आर्मीले युवा नेता नरेश साह तुरहाको संयोजकत्वमा रौतहट जिल्ला कमिटी समेत घोषणा गरेको छ । युवाहरुमाझ अति लोकप्रिय नेता पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा जिल्लाभरका वामपन्थी नेताहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले युवाहरुले हस्तक्षेपकारी भुमिका खेल्दै विभिन्न तहमा व्याप्त रहेको भ्रष्टाचारका विरुद्ध उत्रिनुपर्ने बताए । आईटी आर्मी गठन हुनु एक ऐतिहासिक सुरुवात भएको बताउदै उनले युवा पुस्ताको सक्रियताले मात्र देश समृद्ध बन्ने भएकोले हार नमानी अगाडि बढ्न निर्देशन दिए । उनले व्यवस्था, शासन प्रणालीलगायतका विषयमा युवा पुस्ताले स्पष्ट धारणा बनाई समाजलाई सहि दिशाबोध गर्न आर्इटी आर्मी अगाडि बढ्नुपर्ने बताए । अस्पष्ट शासन व्यवस्थाको कारण देशमा राजनीतिक तमासा भइहेको बताउदै उनले यसबारे पर्दाफास गर्दै हरेक किसिमका वेथिति र विसङ्गतिको अन्त्य नगरी समृद्धिको सपना साकार हुन नसक्ने जीकिर गरे ।

“हामीले हेरिरहेका छौँ, संसदीय दलीय प्रणालीमा हुनै पनि देशमा सत्तापक्ष सांसदले अर्को दलको प्रधानमन्त्री बनाउन मतदान गर्दैन , संसारमा कही पनि ७६१ वटा सरकार छैन, राष्ट्रपति संस्थाको निर्णयको अपमान हुँदैछ, शक्ति पृथकीकरणको नाममा अराजकता बढ्दै छ, जनादेशभन्दा पनि परमादेशबाट देश चलिरहेको छ ।” पूर्वमन्त्री साहले भने, “तह-तहमा विवाद छ, सत्ता गिराउन, टिकाउन र बनाउन निकृष्ठ तहको तमासा भइरहेको छ, सामन्तवादको अवशेषले देशलाई भ्रमित गर्ने दुष्प्रयास भईरहेको छ । यो सबै वर्तमान अस्पष्ट व्यवस्थाको प्रतिफल हो । समाजलाई भ्रमित बनाई धमिलो पानीमा माछा पार्ने दुस्साहस प्रतिक्रियावादीहरुले गरिरहेका छन् । रौतहटको नवगठित आईटी आर्मीले यी सबै खाले विकृति, भ्रष्टाचार र गलत व्यवस्थाबारे जनतालाई सुसुचित गर्नुपर्छ र समाजवादी व्यवस्था निर्माण गर्नतर्फ केन्द्रित हुनुपर्छ । यसका लागि तपाई युवाहरु हार नमानिकन अगाडि बढ्नुहोस ।”

रौतहटकझ जिल्ला भेलमा पूर्व प्रदेश सभा सदस्य कुन्दन कुश्वाहा, नेताहरु उपेन्द्र साह, त्रिभुवन साह, राजन यादव, राजकिशोर यादव, चन्देश्वर बैठा, मौलापुर नगरपालिकाकी प्रमुख एवम् महिला नेतृ रीनाकुमारी साह, देवाही गोनाहीकी नगरउपप्रमुख परनिया देवी पटेल तथा फतुवा विजयपुरकी कान्ति देवी महतो लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

मंगलबार भक्तपुरस्थित दिव्यश्वरी पार्टी प्यालेसमा आयोजित आई टी आर्मीको प्रथम राष्ट्रिय भेलाबाट युवा नेता चन्द्रभुषण साहको नेतृत्वमा यस संगठनको घोषणा भएको थियो । संगठनमा केन्द्रीय कमिटीमा १ सय ५१, प्रदेश कमिटीमा १ सय १, जिल्ला कमिटीमा ५५ र पालिका कमिटीमा ३३ सदस्य रहने प्रस्ताव गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस