माघ ११, काठमाडौं । बलात्कार गरेको आरोपमा प्रहरीले रामेछाप मन्थली नगरपालिका वडा नम्बर १० का ५१ वर्षीय वडाध्यक्ष भरतबहादुर बोहरालाई पक्राउ गरेको छ। प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज ढुङ्गानाका अनुसार जिल्ला प्रहरी कार्यालय रामेछापले उनलाई शनिबार मन्थलीको चनखुबाट पक्राउ गरेको हो ।

वडाध्यक्ष बोहराविरूद्ध चिनजानकी ३३ वर्षीया महिलाले गत सोमबार महानगरीय प्रहरी वृत्त, ठिमीमा दिएको जाहेरीको आधारमा जिल्ला अदालत भक्तपुरबाट वडाध्यक्ष बोहराविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो। ठिमी प्रहरीले फरार रहेका वडाध्यक्ष बोहरालाई पक्राउ गरिदिन रामेछाप प्रहरी कार्यालयलाई पत्र पठाएको थियो । सोही पत्र अनुसार उनलाई पक्राउ गरी रामेछापबाट भक्तपुर ल्याइएको छ।
प्रहरीका अनुसार बोहराले माघ दुई गते राति ती महिलामाथि बलात्कार गरेका थिए। ती महिला मध्यपुर ठिमी नगरपालिका(३ स्थित एक घरमा डेरा गरी बस्ने गरेकी थिइन । वडाध्यक्ष बोहरामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।