• २०८३ बैशाख ६ गते आइतवार

खार्पुनाथ गाउापालिकामा एक वर्षदेखि खाद्यान्न पुगेन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष ८,हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकामा एक वर्षदेखि खाद्यान्न पुग्न सकेको छैन ।सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारस्थित बिक्री केन्द्रमा विगत एक वर्षदेखि खाद्यान्न ढुवानी हुन नसक्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका चामल पुग्न नसकेको हो ।

यसपालि वर्षमा एक पटक मात्र फल्ने उवा बाली पनि राम्रो उत्पादन नभएका कारण खार्पुनाथमा खाद्यान्न समस्या हुने देखिएको स्थानीयवासी बताउँछन् । स्थानीय उत्पादन कम हुनु, खाद्यान्न आयात नहुनु र लिमिटेडको खाद्यान्न पनि ढुवानी हुन नसक्दा खार्पुनाथमा खाद्यान्नको चर्को समस्या देखिएको वडा नं २ थालीका स्थानीयवासी लामा रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “वडा नं २ थालीका ३०० घर रहेका छन्, उनीहरुसहित अन्य वडाका स्थानीयवासीले पनि वर्ष दिन खाद्यान्न नपाउँदा प्रत्यक्ष समस्यामा परेका छन् ।”

वर्षको एकपटक मात्रै गएको असार महिनामा थालीका ३०० घरधुरीलाई ३० केजीका दरले प्रतिघरधुरीलाई एक बोराबाहेक त्यसयता खाद्यान्न वितरण नभएको उहाँको भनाइ छ । खार्पुनाथको याङ्चु बजारस्थित बिक्री केन्द्रमा यहाँका लागि आवश्यक पर्ने ५०० क्विन्टल खाद्यान्न अहिलेसम्म ढुवानी हुन नसकेपछि यहाँका नागरिक चामल पाउनबाट बञ्चित हुनुपरेको हो । त्यस्तै गाउँपालिकाले समेत खाद्यान्न ढुवानीका लागि कुनै पहल नगरेको उहाँको भनाइ छ ।

हुम्लाका अधिकांश डिपो र बिक्री केन्द्रमा ढुवानीको जिम्मा लिएका ठेकेदारको लापरवाहीका कारण स्थानीयवासीले पाउनुपर्ने खाद्यान्न पाउन नसकेका हुन् । यस्तै जिल्लाको दक्षिणी भेगका सर्केगाड डिपो, छप्रेला, श्रीनगरलगायतका बिक्री केन्द्र तथा डिपोमा यतिबेला खाद्यान्न अभाव भएको छ । विकट जिल्लाका लागि खाद्यान्न ढुवानी गर्ने जिम्मा लिएका ठेकेदारले समयमै ढुवानी नगर्दा दक्षिण भेगमा खाद्यान्नको थप सङ्कट निम्तिने देखिएको छ ।

खार्पुनाथ गाउँपालिकाबाट दक्षिण भेगमा रहेका बिक्री केन्द्र तथा डिपोका लागि पैदलमार्ग भएर खाद्यान्न ढुवानी हुँदै आएको छ । अब पुस, माघमा हुम्लासहित कर्णालीका उच्च हिमाली जिल्लामा अत्यधिक हिमपात हुने गर्दछ । त्यसपछि सडक अवरुद्ध भएपछि ढुवानी हुने खाद्यान्न रोकिने गर्दछ । ठेकेदारको चरम लापरवाही र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोटको बेवास्ताका कारण यहाँका नागरिकले वर्षैपिच्छे खाद्यान्नको समस्या झेल्दै आउनुपरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस