पुस ८, काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न दुग्धजन्य वस्तुमा अनिवार्य गुणस्तर मापदण्ड बनाउन थालेको छ । विभागले खाद्य ऐनअनुसार दुग्धजन्य वस्तुमा अनिवार्य गुणस्तर मापदण्ड बनाउन लागेको हो ।

अनिवार्य गुणस्तर मापदण्डका लागि मस्यौदा तयार गरी विविध विषयमा टास्क फोर्स तथा प्राविधिक उपसमितिमा विज्ञसहित छलफल गरिसकेको विभागले जनाएको छ । विभागका अनुसार आइसक्रिम, फ्रोजन डेजर्ट, खुवा-कुराउनी, छुर्पी, डेरी ह्वाइट्नर, कर्न स्टार्च, माल्टेड मिल्क फुड, माल्ट बेस्ड मिल्क फुडको अनिवार्य गुणस्तर मापदण्ड बनाउन थालेको छ । यसैगरी, पास्ता, सोयासस्, सोयाबडी, ओट्स, पिनटबटर, कोका बटर, मार्गरिनसमेत अनिवार्य गुणस्तर मापदण्ड बनाउन थालेको छ ।
हालसम्म सरकारले १ सय ३५ वटा विभिन्न खाद्य पदार्थहरूको अनिवार्य गुणस्तर मापदण्ड निर्धारण गरी नेपाल राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइसकेको छ । राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई रासायनिक, जीवनाशक विषादीको अवशेष, माइकोटक्सिन, हेभी मेटल तथा सूक्ष्म जैविक विषय गरी विभिन्न २६ खाद्य पदार्थहरूका १०१ प्यारामिटरहरूमा नयाँ सस्करण आइयासओ र आईईसी १७०२५ याम २०१७ अनुसार अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेगरी प्रयोगशाला प्रत्यायन सन् २०२२ जनवरीसम्म नवीकरण गर्ने कार्य रहेको विभागले जनाएको छ । खाद्य पदार्थको निर्यातमा सहजीकरणका लागि विभागअन्तर्गत राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाबाट १ सय १८ वटा थप प्यारामिटरमा एक्रेडिटेसनको क्षेत्र विस्तारका लागि निवेदन दिइसकेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।
उनले एक्रेडिटेसन प्रदायक संस्था यानएवियाल इन्डियाबाट प्रमाणीकरणका लागि तयारी कार्य भइरहेको बताए । उनले प्रयोगशाला सेवा २४ घण्टा सञ्चालन गर्नेगरी कार्यक्रम प्रस्ताव मन्त्रालय लगिएको जानकारी दिए ।
विभागका अनुसार नेपालमा आयात हुने तरकारी र फलफूलमा जीवनाशक विषादीको अवशेषको विश्लेषण परीक्षण कार्य विगतमा केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको आरविपिआर परीक्षण इकाइबाट हुने गरेकामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशानुसार सो विश्लेषण परीक्षण कार्य कात्तिक गतेबाट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट गर्ने भएको छ ।विभागबाट गर्ने भएपछि विभागअन्तर्गत कार्यालयबाट खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, काँकडभित्ता, रानी विराटनगर, जलेश्वर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनगढीबाट सुचारु गर्न आरविपिआर मेसिनहरूको व्यवस्था तथा जनशक्ति तालिम सञ्चालन गरी १ कात्तिकबाटै नै काम सुरु गरिसकेको छ ।
प्रथम त्रैमासिक अवधिमा विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रयोगशालाबाट संकलित नमुना, खाद्य उद्योग अनुज्ञापत्रका लागि संकलित नमुनालगायत सेवाग्राहीबाट अनुरोध भई आएका ६ हजार ६ सय १७ वटा नमुना तथा आयात निर्यात नियमनअन्तर्गत १६ हजार ३ सय १० वटा नमुना गरी कुल २२ हजार ९ सय २७ वटा नमुना प्रयोगशाला जाँच परीक्षण गरिएको थियो । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।
https://khabar24nepal.com/12/23/2021/102854