• २०८३ बैशाख ४ गते शुक्रवार

कर्णालीका सबै नीति विपद्मैत्री बनाइने : मन्त्री नेपाली

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ७, कर्णाली । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले प्रदेश सरकार विपद्मैत्री नीति बनाउनेतर्फ केन्द्रित भएको बताउनुभएको छ । दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताहअन्तर्गत कर्णाली प्रदेश योजना आयोग र आइओएमद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेशको विकास योजनामा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी प्रादेशिक परामर्श कार्यक्रममा मन्त्री नेपालीले प्रदेश सरकारले निर्माण गर्ने हरेक नीति विपद्मैत्री बनाइने जनाउनुभयो ।

उहाँका अनुसार दिगो विकास लक्ष्यअनुसारको कार्य गर्न विपद्मैत्री नीति बनाउन लागिएको हो । विपद् न्यूनीकरणका लागि पूर्र्वतयारी नै महत्वपूर्ण कार्य भएकाले त्यसैअनुसार पूर्वसूचना प्रणाली व्यवस्थित पारेर काम गरे त्यसको प्रभावकारिता बढ्ने मन्त्री नेपालीले बताउनुभयो ।

विपद् आउनुका कारण पहिचान गरेर प्रतिकार्यका लागि तयारीमा जुट्दै गर्दा भूउपयोग नीतिसँग सम्बन्धित भएर काम गर्नुपर्ने उहाँको भनाइ थियो । गरिबीका कारण पनि विपद् व्यवस्थापनमा समस्या भएको बताउँदै मन्त्री नेपालीले भन्नुभयो, “आज पनि कमजोर वर्गले खोला किनार तथा भिरालो जमिन नजिक बस्नुपर्ने बाध्यता छ । अबका नीति तथा कार्यक्रममा त्यस्ता बस्ती विकासको योजना बनाउँदा सुरक्षित स्थानमा स्थानान्तरण गर्नेगरी कार्ययोजना बनाउनुपर्छ ।”

कार्यक्रममा कर्णाली प्रदेशका योजना आयोगका उपाध्यक्ष डा सर्वराज खड्काले विपद्को आँखाबाट विकास निर्माणलाई हेर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी कर्णाली प्रदेश सरकारका विभिन्न विषयगत मन्त्रालयका योजना महाशाखा प्रमुखले वातावरणीय प्रभाव मूल्याङ्कनविनाको विकास विपत्तिको मुख्य कारण भएको बताएका थिए । नीति बनाउँदा हतार गर्न नहुने तर बनाइसकेपछि त्यसको कार्यान्वयन जतिसक्दो छिटो गर्नुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस