पोखरा, ७ भदौ । गण्डकी प्रदेशको ६० करोड ४१ लाख बजेट बेरुजु रहेको छ । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७६/०७७ मा ३० अर्ब ७४ करोड बजेट खर्च हुँदा उक्त बजेट बेरुजु रहेको गण्डकी प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
उक्त बेरुजु रकम सात प्रदेशमध्ये गण्डकी प्रदेशमा सबैभन्दा कम हो । ३० अर्ब ७४ करोड भन्दा बढीको लेखापरीक्षण गर्दा ६० करोड ४१ लाख रुपैयाँ अर्थात १.९६ प्रतिशत बेरुजु निस्किएको हो ।
महालेखाले बेरुजुमध्येको ४ करोड २६ लाख रुपैयाँ असुल गर्न भनेको छ भने बाकीँ बेरुजु रकमको कागजी प्रक्रिया पुरा गर्न निर्देशन दिएको छ । प्रमाण कागजात पेश गर्नुपर्ने २८ करोड ८८ लाख ५७ हजार तथा अनियमित भएको १२ करोड २० लाख ७५ हजार र पेश्की बाँकी १४ करोड ५६ लाख ९७ हजार रहेको छ ।
०७५/७६ सम्म गण्डकी प्रदेशमा १ अर्ब ६४ करोड ४८ लाख १६ हजार बेरुजु देखिएकोमा ७० करोड ९१ लाख ७९ हजार फर्स्यौट भई ९३ करोड ५६ लाख ३७ हजार बाँकी रहेको थियो । ६० करोड ४१ लाख थप भएपछि गण्डकीमा कुल बेरुजु रकम १ अर्व ५३ करोड ९७ लाख ३७ हजार कायम भएको छ ।
प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा सबैभन्दा बढी बेरुजु देखिएको छ । उक्त मन्त्रालयमा ३८ करोड ६८ लाख बेरुजु रहेको छ । त्यसमध्ये ३ करोड २९ लाख ८१ हजार रुपैयाँ तत्काल असुल गर्न महालेखाले भनेको छ ।
सामान्यतया बेरुजु देखिएको रकम ढिलोमा २/३ वर्षमा फस्यौट नभएमा ताकेता गर्दा पनि भुक्तानी नभएमा जायजेथा असुल उपर गर्ने प्रचलन रहेको छ ।