जेठ ९,नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै साढे दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
त्यसैगरी सोही अवधिमा अरु तीन हजार ७४१ जनाको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा भारतमा तीन लाख ५५ हजार १०२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयको तथ्याङ्क छ ।
मन्त्रालयको विवरण अनुसार नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाखभन्दा बढी रहेको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुइ करोड ६५ लाख ३० हजार १३२ रहेको छ जसमध्ये २८ लाख पाँच हजार ३९९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।
भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख ९९ हजार २६ पुगेको छ । कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या भने अहिलेसम्म दुई करोड ३४ लाख २५ हजार ४६७ पुगेको छ ।