असोज ६, सुर्खेत । स्वास्थ्य उपचारमा विश्वास नगर्ने जंगलमा फिरन्ते जिवन बिताउदै आएको राउटेका समुदायको धारण बदलिएको छ । लोप उन्मुक फिरन्ते राउटे समुदाय पहिले डाक्टरी उपचारमा त्यति विश्वास गर्दैनथे तर पछिल्ला केही वर्षयता उनीहरुकोे त्यो धारणा बदलिएको छ । कर्णबहादुरले पनि स्वास्थ्य चेकजाँचका लागि बस्तीमा पुगेको एक सरकारी टोलीसँग उपचारको व्यवस्था मिलाइदिन आग्रह गरे ।

‘बिरामीले थलिएको धेरै भइसक्यो, औषधि उपचार पाए हुन्थ्यो,’ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना नेतृत्वको टोलीसँग कर्णबहादुरले भने, ‘जीउ दुखेर हैरान बनायो, औषधि खाए निको हुन्थ्यो कि ? डाक्टरलाई यतै ‘बस्तीमै’ पठाइदिनुर्पयो ।’
स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको राउटे समुदाय कर्णाली प्रदेश र आसपासका जंगलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जातिमा पर्छ । यो समुदाय एक साता अघि मात्रै सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ स्थित घाटगाउँमा बसाइँ सरेको हो । ४६ घरधुरी रहेका राउटे हाल १४१ को संख्यामा छन । दिनप्रतिदिन उनीहरुको संख्या घट्दै आएको छ । अधिकांश राउटेका हाटखुट्टामा घाउ–खतहरु छन । ३० वर्षीय पे्रम शाही दैलेखको गुराँस गाउँपालिकामा अटोरिक्सा पल्टिदा घाइते भए । उनको दायाँ खुट्टामा गम्भीर समस्या छ । दुर्घटनालगत्तै उनले स्थानीय मेडिकलमा उपचार गराए । स्वास्थ्यकर्मीले हड्डी भाँचिएको बताएपछि डर लागेर उपचार नगराएको उनले बताए ।
यस्तै, १२ वर्षीय बपिल शाही केही दिनअघि सल्यानको बालुवाग्राहीमा लडेर घाइते भइन । उनको दायाँ हातको कुइनामा चोट लागेको छ । राउटे, लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्का अधिकारीले राउटेको उपचारमा स्थानीय र प्रदेश सरकारले बेवास्ता गरेको बताइन् । ‘भत्ता मात्र बाँडेर राज्यले राउटेप्रतिको दायित्वबाट पन्छिन मिल्दैन, उनले भनिन, ‘बिरामीलाई बस्तीबाट अस्पतालमा र्पुयाउने, उपचारका लागि काउन्सिलिङ गर्न उनीहरुले विश्वास गर्न सक्ने मान्छे कुरुवा बस्नुपर्छ, अन्य जातिजस्तो राउटेको उपचार गर्न सजिलो छैन ।’
कन्दमूल खान छोडे, मदिराको लत
जंगलमा फिरन्ते जिवन बिताउदै कन्दमूल खाने राउटे समुदाय पछिल्लो समय मदिराविना रहन सक्दैनन् । वनजङ्गल, खोलाकिनारमा नाङ्गै बस्छन्न, पहिले–पहिले कन्दमूल खाने, गुना–बाँदरको शिकारलाई उसिन्ने, भातमा पानी बढी हालेर नून छर्केर खाने गर्थे, तरकारीका रुपमा कुभिण्डो, खोले सागलाई उसिनेर पकाउँथे,’ उनले भनिन्, ‘अचेल खानपिनको शैली बदलियो, मदिराको कुलत बढ्यो, शहरिया खानपिनमा रुचि बढ्यो जसले गर्दा राउटेको स्वास्थ्य अवस्था कमजोर बन्न पुग्यो ।’
राउटेको मृत्युदर बढ्यो, संख्या घट्यो
गत वर्ष मङ्सिरदेखि यता १८ जना राउटेको मृत्यु भइसकेको छ । पछिल्लो समय मयो शाही, दलबहादुर शाही, मानसिंह शाही, शिवराज शाही, कान्छाराम शाही र कपिल शाहीको मृत्यु भएको जनाइएको छ । अत्यधिक मदिरा सेवनका कारण अकालमा धेरै राउटेको ज्यान गइसकेको छ । एकातिर मदिराको अत्यधिक सेवन र अर्कोतिर बिरामी हुँदा स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्दा मृत्युदर बढेको बताइएको छ । यकिन तथ्यांक नभए पनि राउटेहरु बर्सेनि घट्दो संख्यामा रहेको विभिन्न अध्ययनले देखाएको छ ।
आफ्ना समुदायका सदस्यको मृत्यु हुनासाथ बस्ती छाड्ने प्रचलनका कारण यो समुदाय छिटो–छिटो बसाइँ सर्नुपर्ने बाध्यतामा छ । पछिल्लो एक महिनामै उनीहरु सात स्थानमा बसाइँ सरिसकेका छन ।
आधुनिकताले भित्रिएको संकट
जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय आधुनिकतामा जोडिएसँगै संकटमा पर्न थालेका छन् । उहीले समुदायबाट अलग्गै बस्थे । काठका विभिन्न सामग्री बनाएर आफ्नो जीविका चलाउँथे । जंगलमा बाँदरको सिकार गर्थे । कन्दमूल तथा विभिन्न जडीबुटी ल्याएर खान्थे । पैसा छोए पाप लाग्छ भन्ने उनीहरू प्रकृतिमै रमाएका थिए । जसका कारण उनीहरू बिरामी परे पनि जडीबुटीले निको भइहाल्थ्यो ।
बाह्रैमास जंगलको काखमा आधा जिउ ढाक्ने राउटेहरूलाई पछिल्ला केही वर्षयता गर्मी र जाडो दुवैले उत्तिकै सताउन थालेको छ । बस्ती विकासले आफूहरूको जंगल विनास हुँदै गएको राउटेको गुनासो छ । जंगलमा गुना बाँदर, गिठ्ठा, भ्याकुरजस्ता कन्दमूलसमेत भेटिन छाडेका छन ।
परक्परागत पेसा संकटमा
कुनै समय आफूले बनाएका सामग्री बोकेरै गाउँ–गाउँ डुलेर अन्नसँग साटेर जीविकोपार्जन गर्ने राउटे समुदाय सीप संरक्षण नहुँदा संकटमा पर्दै गएका छन । बजारमा आधुनिक प्रविधि भित्रिएसँगै जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले निर्माण गरेका सामग्री संकटमा पर्न थालेका हुन ।
निर्माण गरेका सामग्री कसैले नकिन्दा रोजीरोटी जुटाउने समस्या देखिएको उनीहरू बताउँछन । राउटे समुदायका व्यक्तिले विभिन्न काठबाट थाल, कचौरा, झुमा, कोसी, आडी, मधुस, खाट, नाउलगायत सामग्री बनाउँदै आएका छन । ‘पहिले–पहिले हामीहरू धेरै सामग्री निर्माण गथ्र्यौं’, कर्णबहादुले भने, ‘अहिले सामान बिक्री हुन छाडेपछि अधिकांशले निर्माण गर्न छाडिसकेका छन ।’
पैसा छोए पाप लाग्छ भन्ने राउलाई ‘पैसा मोह’
राउटे समुदायमा काम गर्ने नाममा विभिन्न थरीका संघ(संस्था भित्रिन थालेका छन । कुनै बेला पैसा छाए पाप लाग्छ भन्ने राउटे समुदाय मगन्ते भएका छन् । उनीहरुको फोटो खिच्दा होस वा उनीहरुसँग बोल्दा पहिले पैसा चाहिन्छ उनीहरुलाई । उनीहरुमा पैसाको मोह निकै बढेको देखिन्छ ।