असोज ६, बैतडी । दशरथचन्द राजमार्गमा दुई सवारीसाधन एक अपासमा ठोक्किँदा पाँचजना घाइते भएका छन् । राजमार्ग अन्र्तगत पाटन नगरपालिका ६ हिरापुरमा महेन्द्रनगरबाट बैतडीको मेलौली आउँदै गरेको सु.प.प्र ०१००१ ज १३३४ नम्बरको हाइस र बैतडीबाट धनगढी जाँदै गरेको ना ६ ख ५६५९ नम्बरको टेलर बुधबार साँझ ५ बजेतिर एकआपसमा ठोक्किएका हुन् ।

टेलर र हाइस एक आपसमा ठोक्किदा हाइसमा सवार पाँचजना घाइते भएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । घाइते हुनेहरुमा बैतडीको पाटन नगरपालिका ६ का ५५ वर्षीया भागा कुमाल, सोही ठाउँका ५० वर्षीय गोपाल कुमाल, पाटन ६ कै ३२ वर्षीया रेखा केसी, पाटन ६ कै १६ वर्षीय आदित्य केसी र शिवनाथ गाउँपालिका ३ की २१ वर्षीया सरस्वती साउँद रहेका छन् । उनीहरु सबैको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र चालकहरु प्रहरी नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।