असोज ६, मुस्ताङ । मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर पाँच महिनापछि असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ। गत बैशाखदेखि मुक्तिनाथ मन्दिरमा नित्य पूजाबाहेक सर्वसाधारणका लागि दर्शन तथा पूजाआजामा रोक लगाइएको थियो।
कोरोना महामारीका कारण बन्द रहेको मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए। मंगलबार प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले संक्रमण दर कम रहेको भन्दै दर्शनका लागि मन्दिर खुला गर्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार आसोज १० गतेदेखि मन्दिर सबैका लागि खुला हुने मुक्तिनाथ विकास समितिले जनाएको छ ।
बैठकले कोरोना परीक्षण गरेको पिसीआर रिपोर्ट वा एन्टिजिन रिपोर्टका आधारमा मात्रै जिल्ला प्रबेश गर्न पाउने व्यवस्था गरेको छ । पिसीआर गरेको ७ दिन र एन्टिजिन गरेको ७२ घण्टा भीत्रको रिपोर्टका आधारमा मात्रै जिल्ला प्रबेश दिईने निर्णय भएको छ । कोरोना खोप लगाएका व्यक्तिहरूले सहज प्रबेश पाउनेछन् ।
मुक्तिनाथ मन्दिर झन्डै समुद्री सतहबाट ३ हजार ८ सय मिटरको उचाइमा अवस्थित छ ।