भदौ २४, काठमाडौं । जेन–जी आन्दोलनका सहिद कलाकार विनोद महर्जन तथा घाइते फोटोपत्रकार दीपेन्द्र ढुङ्गानाको विशेष कला प्रदर्शनी ‘प्रतिध्वनि’ आजदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) मा बुधबारदेखि सुरु भएको उक्त प्रदर्शनी भदौ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा आन्दोलनका क्रममा सहादत प्राप्त गरेका कलाकार महर्जनका कलाकृतिहरूका साथै फोटोपत्रकार ढुङ्गानाले आफूलाई गोली लाग्नुअघिसम्म कैद गरेका ऐतिहासिक तथा अप्रकाशित तस्बिरहरू राखिएको छन् ।

आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवन अगाडि गोली लागेर घाइते भएका फोटोपत्रकार ढुङ्गानाले आफू घाइते हुनुभन्दा ठीक अगाडिसम्म माइतीघरदेखि बानेश्वरसम्म खिचेका तस्बिरहरू प्रदर्शनीमा समावेश गरिएको जानकारी दिए ।
‘मलाई भदौ २३ गते बानेश्वरको संसद् भवन अगाडि गोली लागेको थियो लगभग दिउँसोको साढे १ बजेतिर । अनि मलाई गोली लाग्नुभन्दा अगाडि २३ गते खिचेका फोटोहरू, माइतीघरबाट ¥याली सुरु भएदेखिबाट संसद् भवनको गेटसम्म बाहिर मलाई गोली लाग्नुभन्दा अगाडिसम्म के–के फोटोहरू मैले खिचेको थिएँ भनेर मैले रिभ्यु हेर्दा अनपब्लिस्ड फोटोहरू आज यहाँ एक्जिबिसनमा राखिएको छ,’ उनले भने ।
घटनाको क्षण सम्झिँदै ढुङ्गानाले त्यतिबेला भन्दा अहिले ती तस्बिरहरू हेर्दा माहोल निकै डरलाग्दो र काहालीलाग्दो महसुस हुने बताए ।
‘अब यो भदौ २३ अथवा जेन–जी आन्दोलन भएको त्यो दिनलाई सम्झिँदाखेरि त्यो दिन अहिले फोटोहरू हेर्दाखेरि अलि काहालीलाग्दो देखिन्छ, डरलाग्दो देखिन्छ । त्यो त्यतिबेला त्यति डर लागेको थिएन जति अहिले फोटोहरू हेर्दा अहिले त्यहाँको माहोल सम्झिँदा, त्यहाँको त्यतिबेलाको घटनाक्रमहरू हेर्दाखेरिको कस्तो थियो त त्यहाँको परिवेश कस्तो बनेको थियो, अनि कसरी त्यहाँ गोली चल्ने अवस्था पुगेको थियो, आन्दोलन कसरी अगाडि बढेको थियो भन्नेहरू यो फोटोहरूले प्रिजेन्ट गर्छ,’ उनले भने ।
ढुङ्गानाले जेन–जी आन्दोलनको वास्तविक स्वरूप, माइतीघरदेखि बानेश्वरसम्मको घटनाक्रम र तत्कालीन परिवेश बुझ्नका लागि प्रदर्शनी अवलोकन गरिदिन सबैलाई आग्रह समेत गरेका छन् ।
पाँच दिनसम्म चल्ने यस प्रदर्शनीले आन्दोलनको ऐतिहासिक दस्ताबेजीकरण तथा तत्कालीन यथार्थलाई सर्वसाधारणमाझ उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।