जेठ ८, काठमाडौं। नेकपा (एमाले) ले पार्टीको नीति र हितविरुद्ध विपक्षी गठबन्धनसँग सहकार्य गरेका नेताहरुलाई कारवाही प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले पहिलो चरणमा ११ जना नेताहरुलाई स्पष्टीकरणबाट कारवाही प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो ।

विपक्षी गठबन्धनमा सहयोग गर्ने नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, भीमबहादुर रावल, मुकुन्द्र न्यौपाने, कल्याणी खडका, लक्ष्मी चौधरी, रामकुमारी झाँक्री, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, सरला यादव, कलिला खानसहित ११ जना नेतालाई कारवाही प्रक्रिया अघि बढाउने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।