कात्तिक ४, काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच मङ्गलबार फोनवार्ता भयो । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खड्का र चीनका विदेशमन्त्री वाङबीच करिब एक घण्टा लामो टेलिफोन वार्ता भएको थियो । सो वार्ताका क्रममा नेपाल–चीन सम्बन्धका विविध आयामहरूका साथै द्विपक्षीय हितमा लामो छलफल भएको थियो ।
खड्का परराष्ट्रमन्त्री नियुक्त भएपछि पहिलोपटक उत्तरी छिमेकी मुलुक चीनका विदेशमन्त्रीसँग यो पहिलोपटक छलफल भएको हो । यस छलफलका क्रममा दुई देशकाबीचको सीमा व्यवस्थापन, व्यापार तथा वाणिज्य, विकासका आयोजनाका साथै कोभिड–१९ को महामारीमा चीनले गर्ने सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । दुई परराष्ट्रमन्त्रीबीच द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसका साथै सो वार्ताका क्रममा नेपालमा रहेका चिनियाँ लगानीका विकास परियोजनाको प्रगति, तातोपानी र रसुवागढी÷केरुङ नाकाबाट सामान ढुवानी तथा नेपाल–चीनबीच नियमित हवाई सेवा सञ्चालन गर्नेबारे पनि छलफल भएको मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । छलफलका क्रममा परराष्ट्रमन्त्री खड्कासँग विदेशमन्त्री वाङले नेपाललाई थप २० लाख मात्रा कोरोनाविरुद्धको खोप अनुदान दिने घोषणा पनि गर्नुभयो । यसअघि पनि चीनले नेपाललाई अनुदानमा खोप उपलब्ध गराएको थियो । चीनका विदेशमन्त्री वाङले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
हालैमात्र नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा नेपाली कांग्रेसको एक टोलीले भारत भ्रमण गरेको छ । परराष्ट्रमन्त्रीसमेत भइसकेका पार्टीका सहमहामन्त्री डा महतको नेतृत्वमा भारतको औपचारिक भ्रमणमा जानु र भारतका विदेशमन्त्री तथा सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्षसँग नै भेटवार्ता गर्नुले यसलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दूतका रूपमा भएको भ्रमणका पमा पनि लिन सकिन्छ । उक्त भ्रमण दलले भारतीय विदेशमन्त्री डा एस जयशङ्कर तथा भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग पनि भेटवार्ता गरेको थियो । साथै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र अरु नेताहरूसँग पनि सो भ्रमण दलले भेट र अन्तक्र्रिया गरेको थियो ।