भदौ, ५ महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट लागुऔषध चरेशसहित तीन जना पक्राउ परेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरीको प्रदेश अनुसन्धान समूहले कृष्णपुर वडा नं. २ प्रगतिटोलबाट उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरुको साथबाट ४ किलो ४ सय ९० ग्राम चरेश बरामद गरिएको छ ।
पक्राउ पर्नेहरु कैलाली, कञ्चनपुर र बझाङ्गका छन् । उनीहरु कैलालीको धनगढी उप-महानगरपालिका ७ का २१ वर्षिय किशोर सिंह, कृष्णपुरका २ बंकका ३६ वर्षिय गणेश भण्डारी र बझाङ छबिस पाथिभेरा गाउँपालिका ५ का ३२ वर्षिय झलक जाग्री रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई गोप्य सूचनाका आधारमा जाँच गर्दा चरेश भेटिएको प्रहरीले दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिद्धराज न्यौपानेले पक्राउ परेको तीन जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको बताए ।
‘शरीरमा खानतलासी गर्दा ४ किलो ४ सय ९० ग्राम चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी कानुन बमोजिम बरामद गरिएको छ’ उनले भने,‘त्यसका आधारमा थप अनुसन्धान भईरहेको छ ।’