माघ ८, एजेन्सी। युरोपियन महारथी रियल म्याड्रिडले १० खेलाडीमा सिमित तेस्रो डिभिजनको टोली अल्कोयानोसँग कोपा डेल रेमा लज्जास्पद हार ब्यहोरेको बनेको छ । बुधबार राति भएको खेलमा रियल अतिरिक्त समयमा २.१ गोलले पराजित बनेको हो । लज्जास्पद हारसँगै रियल कोपा डेल रेको अन्तिम ३२ बाटै बाहिरिएको छ ।
जिनेदिन जिदानको टोलीले एडर मिलिटाओको गोलको मद्दतले अग्रता लिएको थियो । तर, खेल सकिन १० मिनेट बाँकी छँदा होजे सोल्बेसले गोल गर्दै खेल बराबरी गरे । अतिरिक्त समयमा खेल प्रवेश गरेपछि ११० औँ मिनेटमा रामोन लोपेजले दोस्रो पहेँलो कार्ड खाएपछि अल्कोयानो १० खेलाडीमा सिमित बनेको थियो । तर, त्यसको पाँच मिनेटपछि जुआनानले गोल गर्दै टोलीलाई ऐतिहासिक जीत दिलाए ।
रियलले १९ पटक कोपा डेल रेको उपाधि जितेको छ । तर, पछिल्लो सात वर्ष यस उपाधिबाट टोली बञ्चित रहँदै आएको छ । सन् १९९३ पछि रियलले मात्र दुई पटक यो उपाधि जितेको छ । क्लबलाई तीनवटा च्याम्पियन्स लिग उपाधि दिलाएका जिदान पछिल्लो समय निकै दबाबमा छन् । रियल ला लिगामा शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा चार अंकले पछि परेको छ । एथ्लेटिकोले दुई खेल कम खेलेको छ ।