माघ ८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले आज देशभरका वडाहरुमा विरोध प्रदर्शन गर्दैछ । संसद विघटनको कदमविरूद्ध गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा यही माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन सम्पन्न गरेको कांग्रेसले आज ६ हजार ७४३ वडामा आयोजना गर्ने विरोध प्रदर्शन गर्न लागेको हो ।
विरोध प्रदर्शनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले सबैमा अपिल समेत गर्नुभएको छ । उहाँले वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सबैमा अपिल गर्नुभएको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते संसद् विघटन गरेपछि ६ गते नै पदाधिकारी बैठकबाट सो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भनेको कांग्रेसले विरोध भने पहिलोपटक गर्न लागेको हो ।
पदाधिकारी बैठकमा असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख कदम ठहर गरेको कांग्रेस ७ गतेदेखि सुरु केन्द्रीय समितिमा भने चुनावमा जाने कि विरोधमा भन्ने विवादमा फसकेको थियो । कांग्रेसका केही नेताबाहेक अधिकांश नेताहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । सभापति देउवाले भक्तपुर, प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं–२ मा सम्बोधन गर्नेभएका छन् भने युवा नेताहरु गगन थापाले नेपालगन्ज र धनराज गुरुङले गोरखामा सम्बोधन गर्ने कार्यक्रम छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै निर्वाचन क्षेत्र पुगिसक्नुभएको छ भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले नयाँबानेश्वरमा आफ्नै क्षेत्रको सभालाई सँबोधन गर्दै हुनुहुन्छ ।