पौष ५, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले संविधान र ऐनअनुसार काम गरेको भए केपी ओलीको अवस्था नाजुक बन्ने टिप्पणी गरेका छन् । ओलीको राजनीति जोगाउनका लागि ठूलो डिजाइन र षडयन्त्र भएको उनले बताए ।

पुस ५ का सन्दर्भमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘यदि निर्वाचन आयोगले कानूनअनुसार निर्णय लिएको भए केपी ओली पार्टीविहीन, चुनावचिन्हविहीन एउटा बबुरो नेता बन्नुहुने थियो । उहाँले अर्को पार्टी दर्ता गरेर चुनाव चिन्ह पनि अर्कै बनाइसक्नुभएको थियो । एउटा सेटिङअन्तर्गत उहाँलाई बचाइयो ।’ प्रचण्डले ओली आज पनि प्रतिगमनकै बाटोमा रहेको बताए । माधव नेपाल गएको ठाउँमा केपी ओली नजानुलाई अलोकतान्त्रिक संस्कार भन्दै उनले आलोचना गरे ।
प्रचण्डले भने, ‘माधवजी देखिएपछि त्यहाँ केपी ओली उपस्थित नहुने रे । कांग्रेस महाधिवेशनमा पनि आउनुहुन्न कि भनेको धन्न त्यहाँ चाहिँ आउनुभयो । निर्वाचन आयोगले, संसदले सबैले स्वीकारेर सरकारमा समेत सहभागी भएको पार्टीलाई मान्यता नदिनु कहाँसम्मको लोकतान्त्रविरोधि चरित्र हो ? अहिले गठबन्धन टुट्छ भने नेपाली कांग्रेसलाई एकलौटी सरकार चलाउन दिने प्रस्ताव ओलीले राखेको भन्दै प्रचण्डले आलोचना गरे ।