वि.सं. २०७८ पौष ५ गते सोमवार तदनुसार ई. सं. २०२१ डिसेम्बर २० तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (थिल्लागा), नेपालमा सूर्योदय : बिहान ०६:५१ बजे र सूर्यास्त : साँझ ०५:११ बजे, पौष कृष्णपक्षको प्रतिपदा (परेवा) तिथि, दिउँसो ११:१४ बजेसम्म, त्यसपछि द्वितीया तिथि, आर्द्रा नक्षत्र, बेलुका ०७:०६ बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
चन्द्रमाको शुभफलमा कमी आउनाले मिश्रित प्रभाव भएको समय हुनेछ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलि दु:ख पाइएला । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । गुरुजनको सहयोग र बुद्धिलाई बेवास्ता गर्नाले लक्ष्य पहिल्याउन धौधौ हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुनसक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइने छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हाँकेका काममा सफलता आर्जन गर्न सकिने छ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ । प्रशंसकहरूले साथ दिनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउने छन् । उचित काममा सही निर्णय लिन सकिने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सजग र सतर्क भई काम गर्नसके आजको दिन पनि लाभकारी बन्नसक्छ । अरुको पछि लाग्नु भन्दा पनि आफ्नै सुझबुझ र परिश्रमको भर पर्नु राम्रो हुन्छ । बिग्रन लागेको कामबाट पनि धेरथोर लाभ नै मिल्नेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुनसक्छ । कडा मिहिनेत र उचित सुझबुझका आधारमा प्रतिष्ठित काम गर्ने मौका छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनलाई उपयोग गर्न सकिने छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । प्रतिष्ठा र पदको आश्वासन देखाउनेहरूले घात गर्नेछन् । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन नसकिएला । व्यापारमा पनि कमै फाइदा हुनेछ, तर निरन्तरको कर्मशीलताका कारण रोजगारी र बन्दव्यापारको क्षेत्रबाट प्रशस्त फाइदा जुटाउन सकिने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । चिताएको काममा सफलता पाउनु हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । घरायसी सुखको अनुभूति हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनु होला । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ । स्वास्थ्य कमजोर रहनेछ । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यवसायको सिलसिलामा यात्रा हुनसक्छ, तर धनार्जन र रमाइलोका दृष्टिले ठूलो फाइदा जुटाउन सकिंदैन । आफन्त र साथीभाइको सहयोग तथा हौसला प्राप्त गर्न गाह्रो हुन्छ । मनपर्ने भौतिक साधन जोड्ने सिलसिलामा आर्थिक सङ्कटले तनाव सिर्जना गर्नसक्छ । दाम्पत्य जीवनमा निराशा भए पनि अन्य परिवारजनको साथले उत्साहित भइने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
काममा अधिकारका चुनौती र प्रतिस्पर्द्धाको सामना गर्नुपर्ला । शत्रुहरूको चलखेल बढ्नाले केही विघ्नबाधा देखा पर्न सक्छन् । विवादले मन निराश बनाए पनि निरन्तरताको मिहिनेत र लगनशीलताका कारण न्यून भए पनि उपलब्धि लिन सकिने छ । काममा तल्लीनता र दत्तचित्त हुनाले दाम्पत्य र घरायसी जीवनमा उतारचढाव आउन सक्छ । व्यापारमा भनेजस्तो लाभ प्राप्त हुँदैन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बौद्धिक प्रतिस्पर्द्धामा विजयी भइने छ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउने छन् । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्द्धीलाई सजिलै हराउन सकिने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अशुभ चन्द्रमाको प्रभाव छ, काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिने बानीले दु:ख पाइने छ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्त्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला । यद्यपि कृषि तथा पशुबाट लाभ हुने समय छ । बिग्रिएको सम्बन्ध र पहिलेका कमजोरीलाई सुधार गर्न सकिने छ । चिन्तन तथा एकान्तमा मन रमाउनेछ ।