भदौ,४ म्याग्दी । सप्तऋषिले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रुपमा चिनिँदै आएको रिखार क्षेत्रमा जनै पूर्णिमाको दिन जनस्वास्थ्यका मापदण्ड अपनाई विशेष पूजाआजा हुने भएको छ।
गत वर्ष विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण पूजा रोकिएकोमा यस वर्ष क्षमा पूजासहित मेलाको समेत आयोजना गरिएको हो। यस वर्ष जनैपूर्णिमा भदौ ६ गते परेको छ।
म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा अवस्थित प्रसिद्ध धार्मिक तथा प्राकृतिक सौन्दर्यले युक्त हिमाली स्थल रिखार क्षेत्र धर्तीको स्वर्ग र हिमाली देवताको वासस्थान भनेर चिनिन्छ।
‘वैदिक समाजका आरम्भकर्ता सप्तऋषिले तपस्या गरेको यस क्षेत्रमा गत वर्ष पहिलो पटक जनै पूर्णिमाको पूजाआजा रोकिएको थियो,’ रिखार युवा क्लबका संरक्षक अंकित पुनले भने‚ ‘तर यस वर्ष भने स्वास्थ्य सावधानी अपनाइ पूजालाई निरन्तरता दिने निर्णय भएको छ।’
हिन्दु धर्मका धेरै धार्मिक ग्रन्थहरुमा रिखार क्षेत्रबारे धेरै वर्णन गरिएको भए पनि रिखार क्षेत्र नेपालको म्याग्दी जिल्लामा पर्छ भन्ने कुरा धेरैलाई जानकारीमा नै छैन। मत्स्य पुराणका अनुसार संसार प्रलय भई जलमय हुँदा महाराज सत्यव्रत र अरुन्धतीसहित सप्तऋषिहरु डुंगामा चढी सुरक्षित स्थलको खोजीमा समुद्रमा घुम्दै गर्दा लगातार उत्तरतर्फ डुंगा खियाउँदै जाँदा उनीहरुले उत्तरापन्थमा धवलागिरि पर्वतलाई समुद्रको बीचमा माथि उठेको देखे र आफ्नो डुंगालाई त्यतैतिर अघि बढाई यहाँ आएर तपस्या गरेको उल्लेख गरिएको छ।
पुलहाश्रमअन्तर्गतका चार धामहरुमध्ये एक धाम मानिने ऋषिराश्रम धामको पूर्वमा गलेश्वरधाम, पश्चिममा मानसरोवरधाम, दक्षिणमा जगन्नाथ धाम र उत्तरमा मुक्तिनाथ धाम रहेका छन्। बाल्मीकि गुफा, अरुन्धती गुफा, सप्तऋषि गुफा नामका गुफा रहेका छन्। डुंगा आकारको ढुंगा र गुफाले मत्स्य पुराण र श्रीमद्भागवत महापुराणका दृष्टान्तलाई सत्य प्रमाणित गरिदिएको गलेश्वर शिवालय क्षेत्रविकास कोषका उपाध्यक्ष पण्डित भीमनाथ पराजुलीले बताए। सप्तऋषिको तपोभूमि समेत रहेको रिखार क्षेत्र हिन्दू धर्मावलम्बीहरुको आस्थाको धरोहर समेत मानिन्छ।
हरेक वर्ष जनैपूर्णिमामा यहाँ आउने भक्तजनले एकपटक पुग्नै पर्ने पर्यटकीय तथा धार्मिकस्थलका रुपमा प्रचारप्रसार गरेकै आधारमा पछिल्लो समय जिल्लाका साथै देशभरबाट धार्मिक पर्यटकहरु आफ्नो मनोकामना पूरा हुने जनविश्वासका साथ रिखार क्षेत्रमा पुग्ने गरेको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिए।
समुद्री सतहदेखि चार हजार ६०० मिटरको उचाइमा अवस्थित रिखारमा पुग्ने धेरैले त्यहाँको भौगोलिक तथा मन्दि आसपारका दृश्यलाई अवलोकन गरेपछि प्रकृतिको अनुपम उपहार पाएको धर्तीको स्वर्ग भनेर भन्ने गर्दछन्।